घरको छतबाट लडेर घाइते भएकी हुम्लाको नाम्खा गाउँपालिका–५ तुम्कोटकी एक महिलाको हेलिकप्टर चार्टर गरी उद्धार गरिएको छ।
५८ वर्षीया छिरिङ्वा तामाङ माघ २१ गते घरको छतबाट लड्दा घाइते भएकी थिइन्। खराब मौसमका कारण उनको उद्धार हुन सकेको थिएन। तामाङको खुट्टा र ढाड भाँचिएको हुम्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।
हिमपात भइरहेका बेला पशुवस्तुलाई घाँस निकाल्न जाने क्रममा उनी छतबाट लडेकी थिइन्। उनलाई उपचारको लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको डिएसपी शर्माले जानकारी दिए।
स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौँ पठाइएको हो। हिमपातका कारण सञ्चार सेवा अवरुद्ध भएका कारण शनिबार मात्रै घटनाबारे प्रहरीले जानकारी पाएको शर्माले बताए।
प्रशासनले काठमाडौँमा रहेका तामाङका आफन्त रिन्जिन बहादुर लामालाई खबर गरेपछि उनले हेलिकप्टर चार्टरका लागि समन्वय गरेका थिए। उनले हेलिकोप्टर चार्टर गर्न साढे सात लाख खर्च लागेको बताए। तामाङ परिवारको आर्थिक अवस्था कमजोर रहेको छ।










प्रतिक्रिया दिनुहोस्