हिउँमा फसेकालाई हेलिकोप्टरबाटै राहत



सुर्खेत ।

जुम्लामा सेतो चिनी (खिरौला) टिप्न गएका स्थानीय हिउँमा फसेका छन् । जिल्लाको तातोपानी गाउँपालिका–८, का तीन दर्जन बढी स्थानीय हिउँमा फसेका हुन् । उनीहरुले यसअघि समूह नै बनाएर खिरौला टिप्न गएका थिए ।

जुम्लासहित कर्णालीका हिमाली जिल्लामा ठूलो मात्रामा हिमपात भएपछि उनीहरुको हिउँमा फसेका थिए । जिल्ला प्रशासन कार्यालय जुम्लाले हिउँमा चिसोले कठ्याङरिएर दुईजनाको मृत्यु भएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी विजया प्रसाईका अनुसार हिउँमा वडा नम्बर ८ का ३४ जना स्थानीय हिउँमा फसेका छन् ।

यसअघि आइतबार बिहान ५५ जनाभन्दा बढी नागरिक हिउँमा फसेको खबर बाहिरिएको थियो । उनले तातोपानी गाउँपालिका–८ को गाग्रो पाटनको एडी ओढारमा १४-१५ जना, खोटी सल्ला ओढारमा ५-६ र गाग्रो ओढारमा रहेका ३-४ जना गरी अनुमानित २० जना बढी नागरिकलाई आइतबार हेलिकोप्टरमार्फत राहत वितरण गरिएको बताइन् । सेतो चिनी (खिरौला) जडीबुटी संकलन गर्न पाटनमा गएका नागरिक बिहीबारदेखि भएको भारी हिमपातले घर फर्किन सकेका छैनन् ।

५५ जना हिउँमा फसेको खबरपछि कर्णाली प्रदेश सरकारको टोलीले राहत सामग्रीसहित आइतबार गाग्रा पाटनमा पुगेर केही दिनलाई पुग्ने राहत सामग्री दिएको तातोपानी–८ का स्थानीय सुरतबहादुर शाहीले बताए । सुर्खेतबाट हेलिकोप्टरमा राहत लिएर प्रभावित क्षेत्रमा गएका उनले उनीहरु हिउँमा फसे पनि सकुशल रहेको बताए । उनले भने, ‘बाक्लो हिउँ जमेकोले हेलिकोप्टर अवतरण हुन सकेन ।

माथिबाटै राहत फाल्यौँ । मलाई देखेपछि सबै चिनेका स्थानीयले तलबाटै नमस्कारसमेत गरे ।’ एडी ओढारमा बसेका १४-१५ जना नागरिकसहित तीन स्थानमा बसेका झन्डै २० जना राहत लिन बाहिर देखिएका थिए । उनीहरुलाई तीन दिनसम्म पुग्ने चाउचाउ, बिस्कुट, दालमोट, चिउरा र औषधि दिइएको उनको भनाइ थियो ।

त्यस्तै पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुईजनाको मृत्यु भएको छ । पाटनमा सेतो चिनी (खिरौला) संकलन कोर्न गएका तातोपानी गाउँपालिका तातोपानी–८ की ३७ वर्षीया देवी शाही र तातोपानी–७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २४ गते सोमबार