तीन महिनापछि कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । पद बाँडफाँडको विषयमा कुरा नमिलेपछि कर्णाली प्रदेश सरकारलाई पूर्णता दिन तीन महिना लामो समय लागेको हो । आइतबार कर्णाली प्रदेशका नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत १६ कात्तिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट पाँचजना मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट सामाजिक विकासमन्त्रीमा यज्ञबहादुर बिसी र आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाही नियुक्त भएका छन् । यस्तै, गठबन्धनभित्रको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रबाट जाजरकोटका गणेशप्रसाद सिंह जलस्रोत तथा ऊर्जामन्त्री र हुम्लाका गैरसांसद छिरिङ दमदोल लामा (कार्चेन) उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका हुन् ।
यस्तै, एकीकृत समाजवादीबाट पदमबहादुर रोकाया भौतिक, पूर्वाधार तथा सहरी विकासमन्त्रीमा नियुक्त भए । माओवादीबाट यसअघि विन्दमान विष्ट आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन भने एकीकृत समाजवादीबाट दलका नेता चन्द्रबहादुर शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनिसकेका छन् । योसँगै आठ सदस्यीय प्रदेश मन्त्रीमण्डलले पूर्णता पाएको हो ।
यसअघि माओवादीले चारवटा मन्त्रालय र एकीकृत समाजवादीले तीनवटा मन्त्रालयको दाबी गर्दै आएका थिए । अहिले भने माओवादीले तीन र एकीकृत समाजवादीले दुईवटा मन्त्रालयमा चित्त बुझाएका छन् ।










प्रतिक्रिया दिनुहोस्