20 June 2024  |   बिहिबार, असार ७, २०८१

खेलकुदमन्त्री गहतराजले गरे राखेपको ज्ञापनपत्र बुझ्न अस्वीकार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, माघ २०, २०७८  

काठमाडौँ ।

राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले बोर्डको बैठक तत्काल बोलाउन माग गरेको ज्ञापनपत्र लिन युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजले अस्वीकार गरेका छन्।

बिहीबार मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्यहरुले तत्काल बोर्डको बैठक बोलाउन माग गरेको ज्ञापनपत्र लिन मन्त्री गहरतराजले अस्वीकार गरेका हुन्।

परिषद्को ज्ञापनपत्र बुझ्न अस्वीकार गरेपछि बोर्ड सदस्यहरुले युवा तथा खेलकुद मन्त्रालयको सचिवालयमा ज्ञापनपत्र दर्ता गराएका छन्। ज्ञापनपत्र दर्ता गराएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा परिषद्का कार्यकारी बोर्ड सदस्य यकेन्द्रबहादुर कुँवरले विगत ५ महिनायता परिषद्को बैठक बस्न नसक्दा राखेपमा अन्योलता छाएको बताए। उनले राष्ट्रिय खेलकुद परिषद्‌मा भइरहेको अन्योलताको निकासका लागि तत्काल बैठक बोलाउन माग गरेको बताए।

बोर्ड सदस्य कुँवरले भने, ‘विगत ४/५ महिनादेखि परिषद्को बैठक बस्न नसकेर अन्योलता छाएको छ। त्यसको निकासको निम्ति हामीले सबै साथीहरु मिलेर युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग यसको निकास मागेका थियौँ। तर उहाँले भेट्न चाहनुभएन। हामीले ज्ञापनपत्र बुझाएका छौँ र बैठक नबसेको लगभग डेढ वर्ष हुन लागेको छ।

त्यस कारणले गर्दा यो बोर्डको बैठक छिटोभन्दा छिटो बोलाइयोस् भनेर अनुरोध गरेका छौँ। लिखित रुपमा निवेदन पनि दिएका छौँ। उहाँको भनाइ अनुसार अहिलेको अवस्थामा सदस्य सचिव नभएकोले गाह्रो छ भन्नुभएको छ। तर ऐनअनुसार हामीले बुझेको उपाध्यक्ष बिना पनि बोर्डको बैठक बसाउन सक्नुहुन्छ। हामीले खेल र खेलाडीको लागि, खेलकुद परिषद्‌भित्रको अन्योलताको निकासको निम्ति आह्वान गरेका छौँ।’

त्यस्तै नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले परिषद्‌मा अहिले कर्मचारीहरुले तलब खान नपाउने परिस्थिति बन्नुको कारण खेलकुद मन्त्रीको अकर्मण्यता भएको आरोप लगाए। उनले राखेपले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने भए पनि मन्त्रीका कारण लथालिङ्ग भइरहेको बताए। उनले खेलाडी र खेलमा राजनीति नगर्न पनि मन्त्री गहतराजलाई आग्रह गरे।

अध्यक्ष पौडेलले खेल क्षेत्रमा छाएको अन्योलताको निकासका निम्ति राष्ट्रिय खेलकुद महासंघका सदस्यहरुले युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने समय मागे पनि भेट्न मन्त्री गहतराजले नभेटेको बताए। उनले खेलकुद मन्त्रीको यस्तो व्यवहारले खेलाडीहरुको आत्मबल घट्दै गएको पनि बताए।

प्रकाशित मितिः बिहिबार, माघ २०, २०७८     4:14:26 PM  |