कोहलपुर ।
मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भोलिसम्म जारी रहने भएको छ । बिहीबार देशका पहाडी भु–भागमा मौसम आंशिक बदली भएको थियो भने तराईमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले जनाएका छन् । मौसमविद् गंगा नगरकोटीले अनुसार क्रमशः दैनिक सुधार हुँदै आएको मौसम शनिबारबाट सफा हुने जानकारी दिइन् ।
‘मौसममा दैनिक सुधार हुँदै आएको छ । हिजोभन्दा आज कम हुन्छ, आजभन्दा भोलि कम र शनिबारदेखि मौसम सफा हुने देखिन्छ’, उनले भनिन् । बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली भएको थियो । देशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको नगरकोटीले बताइन् ।
बिहीबार राती प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने अनुमान गरिएको थियो । यस क्रममा प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना थियो ।
प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।
प्रतिक्रिया दिनुहोस्