बर्दियामा हट्दै विद्युत् समस्या



जिल्लामा सबैभन्दा बढी गर्मीको समयमा विद्युत्को माग हुने गरेको छ । केही समयमा जिल्लामा विद्युत् पूर्वाधारका काम धेरै भएकोले प्राविधिक समस्यासमेत पहिलोजस्तो नआउने चौधरीले बताए । जिल्लाको आवश्यकताअनुसार कर्मचारी नहुँदा भने कार्यालय ठूलो समस्या झेल्नु परेको छ ।

संजय आचार्य । गुलरिया ।

बर्दियामा अब विद्युत्को कम भोल्टेजको समस्या कम हुने भएको छ । कम भोल्टेज समस्या सुधारका लागि मैनापोखर सवस्टेशनमा १६ र गुलरिया सवस्टेशनमा २४ र भुरिगाउँ सवस्टेशनमा ८ एमभिएका ट्रान्सफर्मर राखिएपछि उक्त समस्याको अन्त्य हुने भएको हो ।

तीनैवटा सवस्टेशनमा ट्रान्सफर्मरहरु सञ्चालनमा आइसकेको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुलरियाले जनाएको छ । अन्य तीनवटा फिडर बाँसगढी, जमुनी र मैनापोखरमा निर्माण गरी सञ्चालनमा ल्याएको वितरण केन्द्र गुलरियाका प्रमुख दीपकजंग चौधरीले जानकारी दिए ।

‘पछिल्लो समय यहाँ भोल्टेजको समस्या लगभग हल भइसकेको छ,’ उनले मिसन टुडेसँग भने, ‘भुरिगाउँ सवस्टेशन ठाकुरबाबा र भुरिगाउँ फिडर निर्माण गरी सञ्चालनमा समेत ल्याइसकेका छौं । पहिले समस्या थियो अब यहाँ कम भोल्टेज र अन्य समस्या छैनन् ।’

जिल्लामा सबैभन्दा बढी गर्मीको समयमा विद्युत्को माग हुने गरेको छ । केही समयमा जिल्लामा विद्युत् पूर्वाधारका काम धेरै भएकोले प्राविधिक समस्यासमेत पहिलोजस्तो नआउने चौधरीले बताए ।

जिल्लाको आवश्यकताअनुसार कर्मचारी नहुँदा भने कार्यालय ठूलो समस्या झेल्नु परेको छ । कर्मचारी अभावकै कारण राम्रो सेवा दिन कठिन हुने गरेको केन्द्र प्रमुख चौधरी बताउँछन् ।

‘सीमित स्रोत र साधनका बाबजुत हामीले सेवा दिइरहेका छौं, तर कतिपय समयमा भनेकै समयमा सेवा दिन सम्भव हुँदैन,’ उनले भने, ‘पटकपटक प्राधिकरणको माथिल्लो निकायमा समस्या राखे पनि कर्मचारी भने थपिएका छैनन् ।’

जिल्लाभर एक सय १३ जना सबै तहका कर्मचारीको दरबन्दी रहे पनि हाल ९४ जनामात्र कार्यरत छन् । तीमध्ये ३३ जना स्थायी, ३५ जना ज्यालादारी, ठेक्का करार १९ जना र गोटागन्ती सातजना कर्मचारी कार्यरत छन् ।

केन्द्रका प्रमुख चौधरीले आफूहरुले एक सय ७५ जना कर्मचारीको माग गर्दै आएको बताए । प्राधिकरणको लागि बर्दियामा एउटा क्रेनको समेत आवश्यकता भए पनि नहुँदा काम सम्पन्न गर्न समस्या भइरहेको बताइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १३ गते बिहीबार