विराटनगर ।
मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बलियाको एक होटलमा महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्न दुई जना पक्राउ परेका छन्।
बलात्कारमा संलग्न सुन्दहरैंचा ४ का ३६ वर्षीय अर्जुन श्रेष्ठ र घटनाकी प्रत्यक्षदर्शी आरती श्रेष्ठलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो। उनीहरु दुवैलाई पीडित महिलालाई उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याएको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङले बताए।
श्रेष्ठका अनुसार घटनामा संलग्न अर्जुनका भाइ २२ वर्षीय सुरज र अर्का युवा फरार छन्। घटनामा संलग्न आरती अर्जुनले सञ्चालन गरेको होटलमा काम गर्ने युवती भएको प्रहरीले बताएको छ। घटनाको उनी प्रत्यक्षदर्शी रहेको डिएसपी श्रेष्ठले बताए।
सुनसरीको इटहरीबाट साँझ ६ बजेतिर बहिनीको घर गछिया जाँदै गरेकी ३० वर्षीया महिलालाई शुक्रबार राति सुन्दरहरैंचा–४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा सामूहिक बलात्कार भएको प्रहरीले बताएको छ।
बहिनीको घरसम्म पुग्ने बाटो बिर्सिएर बाटो सोध्दा स्थानीय रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा चढाएर गाडी घुमाउँदै सोही लज पुर्याएर रातभर सामूहिक बलात्कार गरेको देखिएको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानका क्रममा महिलालाई बेहोस बनाएर बलात्कार भएको देखिएको बताइएको छ।
अत्याधिक रक्तश्रावका कारण बलात्कार पीडित महिलाको अवस्था चिन्ताजनक छ। उनको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ। कोशी अस्पतालकी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रिभा केसीले रगत धेरै बगेका कारण रक्तचाप पनि निकै कम भएको बताइन्।
शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटनाको बारेमा जानकारी गराएकी थिइन्। महिला बलात्कृत भएको कोठा रगताम्य रहेको प्रहरीको भनाइ छ।
पीडित महिलालाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट पनि रगताम्य देखिएको प्रहरीले बताएको छ। घटना थाहा पाउनेवित्तिकै बलात्कारमा संलग्नलाई पक्राउ गर्न र घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको डिएसपी मुकारुङले बताए।
घटनाका बारेमा आफन्त र परिवारका सदस्यले शनिबार बिहान ८ बजेतिर मात्रै थाहा पाएको पीडितकी बहिनीले बताइन्। उनका अनुसार आफू होटल पुगेपछि अस्पताल लैजानुपर्छ भन्दा पनि उनीहरुले मानिरहेका थिएनन्। पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन्। उनका श्रीमान् २ महिनाअघि पहाड घर खोटाङ गएका थिए।
प्रतिक्रिया दिनुहोस्