16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

सुनमायालाई कर्णाली सरकारको सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८  

सुर्खेत ।

अल्ट्रा म्याराथन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले सम्मान गरेको छ । थाइल्यान्डमा हालै सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा महिलातर्फ प्रथम भएकी बुढालाई सोमबार कर्णाली प्रदेश सरकारले सम्मान गरेको हो ।

कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर आएकी बुढालाई कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्मान गरे । बुढालाई सुर्खेत विमानस्थलबाट मुख्यमन्त्री कार्यालयसम्म नागरिक सम्मान गरिएको थियो ।

११० किलोमिटर अल्ट्राट्रेलरेस प्रतियोगितामा बुढाले दुई हजार प्रतियोगीलाई पछि पार्दै समग्रमा तृतीय र महिलातर्फ प्रथम स्थान हासिल गरेकी थिइन् ।

कर्णालीमा सयौं सुनमाया रहेको र उनीहरूको पहिचान गरेर प्रदेश सरकारले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको मुख्यमन्त्री शाहीले बताए । ‘खेल क्षेत्रको विकासका लागि कर्णाली सरकारले महŒवपूर्ण काम गरिरहेको छ,’ उनले भने, ‘कर्णाली प्रदेशको पहिलो गौरवको योजनाका रूपमा प्रदेश रंगशाला निर्माणको काम सुरु गरिएको छ ।

नेपालमै पहिलोपटक कर्णालीमा भलिबल कभर्डहल निर्माण पनि सुरु भएको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णालीबाट प्रतिनिधित्व गर्ने खेलाडीहरूलाई प्रदेश सरकारले प्रोत्साहनबापत आर्थिक पुरस्कारको व्यवस्था गरिएको छ,’ उनले भने, ‘हामीले खेलाडीको उच्च सम्मान गर्ने लक्ष्य राखेका छौं ।’ प्रदेश सरकारले सुनमायालाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

 

प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८     4:44:23 PM  |