26 July 2024  |   शुक्रबार, साउन ११, २०८१

बाँकेको राप्तीपारीमा बाघको आक्रमणबाट फेरि एकजनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, पुस २४, २०७८  

नेपालगन्ज ।

बाँकेको राप्तीसोनारीमा बाघको आक्रमणबाट फेरि एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको आज बाघको आक्रमणबाट मृत्यु भएको हो।

विहान साढे १० बजेको सदाबहार सामुदायिक वनमा दाउरा काट्न गएकी थारुलाई बाघले आक्रमण गरेपछि उनको मृत्यु भएको प्रहरीचौकी फत्तेपुरका इन्चार्ज यज्ञबहादुर खत्रीले जानकारी दिए। घटनास्थलको मुचुल्का गरेर भेरी अस्पतालमा पोष्टमार्टमका लागि शव पठाउने तयारी भएको इन्चार्ज खत्रीले बताए।

यसअघि गत बिहीबार मात्र बाघको आक्रमणबाट राप्तीसोनारी ४ प्रसहवाकी ५२ वर्षीया लिला विष्टको मृत्यु भएको थियो।

त्यस्तै, शुक्रबार पनि राप्तीसोनारी ५ का बमबहादुर पुन बाघको आक्रमणबाट जोगिन सफल भएका थिए। तर, बाघले एउटा बाख्रा मारेको थियो। राप्तीसोनारीमै बुधबार पनि जंगलमा पात टिप्न गएका महिलालाई पाटेबाघले आक्रमण गरेको थियो।

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर नयाँ बस्तीकी ३० वर्षीया महिला दुर्गा थारुलाई बुधबार बिहान बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणमा परेपनि उनी बाँच्न सफल भएकी थिइन्।

हालसम्म बाघले तीन महिनाको अवधिमा बाँकेको राप्तीसोनारी र नरैनापुरमा ४ जनाको ज्यान लिइसकेको छ। यी घटनाहरु दोहोरिरहेपछि राप्तीसोनारीमा त्रास बढेको छ।

प्रकाशित मितिः शनिबार, पुस २४, २०७८     4:56:01 PM  |