तेस्रो लहरको जोखिम बढ्दै: जमुनाह भएर भारतबाट फर्किएकामा कोरोना संक्रमण



सिमानामा जाँच गर्दा कोरोना संक्रमण देखिएकालाई आइसोलेसनमा नराखी घर जान दिनु, भारतबाट फर्केका सबैको परीक्षण नहुनु जस्ता कारणले तेस्रो लहरको उच्च जोखिम रहेको विज्ञहरू बताउँछन् । अहिले दिनहुँ एक
हजारभन्दा बढी नेपाली जमुनाह हुँदै नेपाल फर्किने गरेका छन् ।


नेपालगन्ज ।

भारतमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिन थालेपछि त्यहाँका विभिन्न सहरमा रहेका नेपाली घर फर्कने क्रम दैनिक बढेको छ । भारतबाट फर्किएका नेपालीमा कोराना संक्रमण दर पनि बढ्दै गएको देखिएको छ ।

नेपाल–भारत सीमा क्षेत्र जमुनाह नाका भएर घर फर्किनेको एन्टिजेन जाँच गर्दा दिनानुदिन कोभिड–१९ (कोरोना भाइरस) संक्रमितको संख्या बढेर गएको देखिएको छ ।

पछिल्लो समय दैनिकजसो सीमा क्षेत्रमा कोरोना भाइरस संक्रमित देखिने गरेका छन् । ‘दुईतीन दिनयता भारतबाट फर्कनेमा संक्रमण दर बढेको पाइएको छ’, जमुनाह हेल्थ डेस्कका ल्याब इन्चार्ज चिरीञ्जीवी ज्ञवालीले भने, ‘भारतबाट आउनेको संख्या बढ्दै गए पनि जनशक्तिले भ्याएसम्म स्वास्थ्य परीक्षण गर्ने गरेका छौं ।’ कोरोना भाइरस संक्रमितलाई नेपालगन्जस्थित भेरी अस्पताल र बालमन्दिरको आइसोलेसन राख्ने गरिएको छ ।

भारतबाट फर्किएकामा कोराना संक्रमण देखिए पनि नयाँ भेरियन्ट ओमिक्रोन हो वा होइन, पत्ता लाग्न सकेको छैन । कुन प्रकारको भेरियन्ट हो भनेर पत्ता लगाउन बाँकेमा प्रयोगशाला छैन । ओमिक्रोन हो वा होइन भनेर पत्ता लगाउन नमुना संकलन गरेर काठमाडौं पठाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । भारतमा नयाँ भेरियन्ट ओमिक्रोनका कारण तेस्रो लहर सुरु भएसँगै बाँके उच्च जोखिममा परेको छ । भारतका विभिन्न सहरमा काम गर्न सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशलगायतका अन्य जिल्लाका नागरिक जमुनाह नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

सिमानामा जाँच गर्दा कोरोना संक्रमण देखिएकालाई आइसोलेसनमा नराखी घर जान दिनु, भारतबाट फर्केका सबैको परीक्षण नहुनु जस्ता कारणले तेस्रो लहरको उच्च जोखिम रहेको विज्ञहरू बताउँछन् । अहिले दिनहुँ एक हजारभन्दा बढी नेपाली जमुनाह हुँदै नेपाल फर्किने गरेका छन् ।

बिहीबार २७ जनामा

नेपाल–भारत सीमा जमुनाह हुँदै नेपाल भित्रिएका बिहीबार थप २७ जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ । जमुनाह हेल्थ डेस्कका अनुसार बिहीबार पाँच सय २६ जनाको स्वाब परीक्षण गरिएको थियो ।

पाँच सय २६ जनामा कोरोना भाइरस परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हेल्थ डेस्कले जनाएको छ । पछिल्लो समय भारतबाट नेपाल फर्किनेमा दैनिकजसो कोरोना भाइरसको संक्रमण देखिँदै गएको छ ।

नेपाल भित्रिनेको संख्या बढ्दै

केही दिनयता भारतमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा नेपाल फर्किनेको संख्या ह्वात्तै बढ्दै गएको छ । अहिले दैनिक एक हजारभन्दा बढी नागरिक नेपाल फर्किने गरेका छन् ।

रोजगारी तथा अन्य कामका लागि भारत गएकाहरु असावधानीपूर्वक नेपाल फर्किन थालेपछि कोरोना भाइरसको जोखिम पनि बढ्दै गएको छ ।

जनशक्ति अभावमा परीक्षण ढिला

दैनिकरुपमा भारतबाट नेपाल प्रवेश गर्ने सर्वसाधारणको संख्याका अनुपातमा स्वास्थ्यकर्मी न्यून छन् । जमुनाहमा स्थापना गरिएको हेल्थ डेस्कमा चारजना स्थायी दरबन्दी र नगरपालिकामार्फत आएका १० जना गरी १४ जनामात्रै जनशक्ति छ ।

यीमध्ये केहीले ज्वरो नाप्ने, कसैले सोधपुछ गर्ने, विवरण संकलन गर्ने र स्वाब संकलन तथा परीक्षण गर्ने गरेका छन् । अहिले कोरोना भाइरसको त्रास कम भएको र ओमिक्रोनको संक्रमण नफैलिएको अवस्थामा सीमित स्रोतसाधनका बीच पनि काम भएको हेल्थ डेस्क जमुनाहका ल्याब इन्चार्ज ज्ञवालीले जनाए । ‘दैनिक सर्वसाधारणको उपस्थितिलाई हेर्ने हो भने जनशक्ति कम छ,’ उनी भन्छन् ।

शुक्रबार २१ जना थपिए

भारत हुँदै नेपाल आएका थप २१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । शुक्रबार नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पृष्टि भएको हो ।

शुक्रबार ६ सय जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना भाइरस संक्रमितलाई बाल मन्दिर आइसोलेसनमा राखिएको छ । बिहीबारका संक्रमितलाई भने भेरी अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

ओमिक्रोनको रिपोर्ट आएन

ओमिक्रोन शंकास्पद देखिएकाहरुको स्वाब काठमाडौं पठाए पनि उनीहरुको रिपोर्ट आएको छ । भारतबाट फर्किएका उनीहरुको जमुनाहमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि ओमिक्रोनको शंका गरी स्वाब काठमाडौं पठाइएको थियो ।

सोमबार स्वाब काठमाडौं पठाए पनि यसको रिपोर्ट आइनसकेको जमुनाह हेल्थ डेस्कले जनाएको छ । हेल्थ डेस्कका ल्याब इन्चार्ज ज्ञवालीका अनुसार १० जनाको स्वाब काठमाडौं पठाइएको थियो । उनीहरुको रिपोर्ट अनिश्चित भएको उनी बताउँछन् ।

२४ जनामा ओमिक्रोन

नेपालमा थप २४ जनामा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको हो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

यो सँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ । यसअघि पनि २ जना विदेशीसहित १ एकजना नेपालीलाई ओमिक्रोन पुष्टि भएको थियो ।

पूर्वतयारीका लागि छलफल

शुक्रबार भेरी अस्पतालका चिकित्स, स्वास्थ्यकर्मीहरु र अस्पताल विकास समितिको संयुक्त बैठक सम्पन्न भएको छ । कोरोन भाइरसको तेस्रो लहर र ओमिक्रोनको जोखिम कम गर्न पूर्व तयारीमा लाग्ने निर्णय गरेको छ ।

जनशक्ति, स्वास्थ्य सामग्री, अक्सिजन भेन्टिलेटर र भौतिक पूर्वाधारका विषयमा छलफल भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए । यसबाट नआत्तिइ सचेत र सजग हुनु पर्ने उनको भनाइ छ । विगतका कमजोरीलाई सुधार गरी अगाडि बढ्ने निर्णय भएको उनले बताए ।

९६८ जनामा कोरोना

पछिल्लो २४ घण्टामा ९ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी १४ हजार ९७१ परीक्षणमा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भने कसैको भएको छैन । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२ रहेको छ ।

समुदायमा पुगिसक्यो ओमिक्रोन भेरियन्ट

ओमिक्रोन भेरियन्टको विशेषता नै नेपालमा दोस्रो लहर ल्याएको डेल्टाभन्दा पनि तीव्र गतिमा फैलिने हो । तर ओमिक्रोन फैलावटले व्यापकता पाउँदै गर्दा परीक्षण अत्यन्तै कम भएको संक्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् ।

‘ओमिक्रोन भेरियन्ट पुष्टि गर्न काठमाडौंमा ल्याउनुपर्ने बाध्यता छ,’ डा. अधिकारी भन्छन्, ‘आज लिएको नमुनाको एक महिनापछि रिर्पोट निस्किन्छ । नतिजा आउँदासम्म एक व्यक्तिले धेरैलाई संक्रमण सारिसकेको हुन्छ ।’

तुलसीपुरका विद्यालय बन्द

दाङ । तुलसीपुर उपमहानगरपालिकाले माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

शुक्रबार बसेको तुलसीपुर उपमहानगरपालिकाको आकस्मिक बैठकले उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा आगामी माघ ३ गतेसम्म पठनपाठन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको थियो ।

तुलसीपुर क्षेत्रका सामुदायिक र संस्थागत गरी पाँचवटा विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि माघ ३ गतेसम्म ८३ वटा सामुदायिक र ६८ वटा संस्थागत विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय भएको उपमहानगरपालिकाका शिक्षा समिति संयोजक कुमार लामिछानेले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २४ गते शनिबार