मंगलबार बिहानैदेखि चिसो बढ्यो । तीन महिने सुत्केरी शुसिला भट्टराईले चिसो हटाउन र बच्चालाई सेक्न भन्दै दिनभरि कोठा बाहिरै आगो तापिन् । उनीसँगै उनका परिवारका सदस्य पनि गफिँदै आगो तापे । जब रात पर्न थाल्यो तब सपरिवार कोठाभित्र पस्यो ।
साँझको करिब ९ बजेतिर परिवारका सदस्य सुतिसकेका थिए । सुशिला भने तीन महिने छोरालाई तताउँदै थिइन् । अचानक उनलाई स्वास फेर्न गाह्रो हुन्छ । यताउता हेर्छिन् सबै सुतेका छन् । उनले अरुलाई बोलाउन कोसिस गर्छिन तर सक्दैनिन् ।
अहिले उनै सुशिला भेरी अस्पतालको आइसियू कक्षमा उपचाररत छिन् । २४ वर्षीया भट्टराई तीन महिनाकी सुत्केरी हुन् । गत कात्तिक महिनामा उनले दोस्रो सन्तानलाई जन्माएकी थिइन् । अस्पतालको बेडमा अक्सिजनको साहारामा स्वास फेरिरहेकी उनलाई केही थाहा छैन । घरि यता हेर्छिन, घरि उता फर्किन्छिन् । कोही मान्छे आउँदा बोल्न खोजेजस्तो गर्छिन् । मधुरो स्वरमा बोल्छिन् उनी ।
शुसिला छटपटाइरहेको बेडदेखि १ मिटरको दुरीमा उनका जेठो छोरा ३ वर्षीया दिवश भट्टराई अर्धचेत अवस्थामा छन् । लहरै रहेका नरेन्द्र भट्टराई पनि यस्तै अवस्थामा देखिन्छन् । बुधबार राति कोठामा आगो ताप्ने कोइलाको धुँवाले निस्सासिएर उनीहरु बाँच्न सफल भए । दुर्भाग्य, कालीकोटको खाँडाचक्र नगरपालिका–६ की स्थायी बासिन्दा शुसिलाले आफ्नो तीन महिने दुधे बालक गुमाएकी छन् ।
कर्णाली प्रदेश खरिद शाखा तथा आपूर्ति शाखा ९हाल नेपालगन्ज० मा कार्यालय सहयोग पदमा कार्यरत २३ वर्षीय धनप्रसाद भट्टराईले पनि ज्यान गुमाए । विगत तीन वर्षदेखि शाखामा कार्यरत भट्टराई शुसिलाका श्रीमान् हुन् । आगो ताप्न आगो बालेको कोइलाको धुँवाले निस्सासिएर उनकी ४५ वर्षीया कोपिला भट्टराई र नन्दकली भट्टराईले समेत ज्यान गुमाए ।
आफन्त खेमराज आचार्यका अनुसार कोपिला भट्टराई ९शुसिलाकी सासू० कालीकोटबाट यही आइतबारमात्र नेपालगन्ज आएकी थिइन् । बुहारी सुत्केरी भएकीले नानी स्याहार्ने र उपचार गराउने उनको सपना पुरा हुन सकेन । नन्दकली पनि नेपालगन्जमै बसेर सिलाइकटाइ सिकिरहेकी थिइन् । आइसियूमै उपचार गरिरहेका नरेन्द्र पनि नेपालगन्जमै दाई भाउजुसँग बस्दै आएको आफन्तले जनाएका छन् । ३ वर्षीय दिवश भने नेपालगन्जमै अध्ययन गर्थे ।
कोइलाले उजाडियो परिवार
आगो ताप्न प्रयोग गरिएको कोइलाका कारण उजाडिएको उक्त परिवार संयुक्त थियो । उनीहरु भेरी अस्पतालको पछाडि रहेको कर्णाली प्रदेश खरिद शाखा तथा आपूर्ति शाखाको क्वाटरमा बस्दै आएका थिए । एउटै कोठामा सातजना बस्थे । कार्यालय सहयोगी भट्टराई तीन वर्षदेखि यही बस्दै आएको बुझिएको छ । आमा भने गत आइतबार मात्रै पहाडबाट तराई झरेकी थिइन् । मृतक भट्टराईकी दिदी र भाई पनि केही समयदेखि उनीहरुसँगै बसिरहेको आफन्त लक्ष्मण आचार्यले जनाए ।
उनका अनुसार धनप्रसाद र शुसिलाको चार वर्षअघि मागी विवाह भएको थियो । विवाह लगत्तै जागिरे भएपछि भट्टराई नेपालगन्ज बस्न थाले । शुसिलाको माइतीघर शुभकालीका गाउँपालिकाको सुककाटियाँ हो ।
कार्यालय सहयोगी भट्टराईसँगै कार्यरत पूर्ण उपाध्याय भन्छन्, ‘उनले यहाँ काम गर्न थालेको २ वर्ष ९ महिना भयो, मैले नै कार्यालय सहयोगीमा नियुक्ति दिएको हो । उनी सामान्य जीवनशैली भएका सहयोगी मान्छे थिए ।’
उपाध्याय पहिला आपूर्ति शाखामा काम गर्थे अहिले भने मानव संशाधन शाखामा कार्यरत छन् । भट्टराईले कक्षा १२ सम्म अध्ययन गरेका थिए । सम्पूर्ण घरको आर्थिक अवस्था उनैले धानिरहेका थिए । कोठामा बालिरहेको आगोको धुँवाका कारण भट्टराईको तीन पुस्ताको एकैपटक दुःखद् निधन भएको छ ।










प्रतिक्रिया दिनुहोस्