कोहलपुर प्रहरीद्धारा नदी दोहनमा प्रयोग भएका टिप्पर नियन्त्रणमा



कोहलपुर ।

बाँकेको राप्तीसोनारीस्थित राप्ती नदीबाट अवैधरुपमा ढुंगा, बालुवा चोरीनिकासी गर्दै गर्दा प्रहरीले तीनवटा टिप्परलाई नियन्त्रणमा लिएको छ । अवैध नदी दोहन भइरहेको गोप्य सूचनाका आधारमा टिप्पर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले राप्तीसोनारी गाउँपालिका–२ को माथेवास नजिकै राप्ती नदीमा अवैध उत्खनन गरिरहेका तीनवटा टिपर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रविन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार राप्ती नदीमा अवैध उत्खनन गरेर नदीजन्य पदार्थ लोड गरिरहेकै अवस्थामा भे१क १४३२, भे१ख ३५४२ र भे१ख ३२३१, नम्बरको टिप्पर नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका टिपर कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाइने उनले जानकारी दिए ।

नदीजन्य पदार्थको जथाभावी उत्खनन र निकासी गर्न थालेपछि राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ का अधिकांश गाउँहरु राप्ती नदी कटानको जोखिममा छन् ।

राप्ती नदीको मुगुवा खोला, झिजरी खोला, खैरी खोला, परुवा खोला, बगदैला घाट, खल्लाटपरी घाट, जलाला घाट तथा टिकुलीपुर र सिधनिया घाटबाट ढुंगा, गिट्टी र बालुवा अवैध उत्खनन भइरहेको स्थानीयहरु बताउँछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १६ गते शुक्रबार