21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

बागेश्वरी बहुमुखी क्याम्पसको एक चर्चा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस १३, २०७८  

एकराज शर्मा ।

लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार सुन्दरनगरी कोहलपुरमा २०४८ सालमा बागेश्वरी बहुमुखी क्याम्पस स्थापना भयो । मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा नेपाल सरकारको पूर्ण लगानीमा स्थापना गरिएको थियो ।

विकासोन्मुख कोहलपुरमा क्याम्पस स्थापना हुनु यहाँको शैक्षिक हबको शुभ संकेन थियो । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा अत्यधिक विद्यार्थी संख्याको चापलाई ध्यान राखेर सहप्राध्यापक वेदनिधि शर्माको अगुवाइमा नेपालगन्ज सदरलाइनस्थित सरस्वती कन्या माध्यमिक विद्यालयमा यसको विधिवत् स्थापना भयो ।

एकराज शर्मा
    एकराज शर्मा

यसमा चोलराज शर्मा, शशाड्ढ शेखर चटर्जी, फत्तेबहादुर सिंह, डा. विश्वनाथप्रसाद कुर्मी, हरिप्रसाद शर्मा, राम सनेही बर्मा, सुधा शर्मा, नारायणप्रसाद शर्मा गैरे, विजय शाह, गोपालप्रसाद रिमाल जस्ता शैक्षिक हस्तीहरु लागिपरेका थिए ।

कोहलपुर नगरीमा उच्च शिक्षा अध्ययनका लागि कुनै पनि शिक्षण संस्था नभएको तत्कालीन समय २०४९ मा यस क्याम्पसलाई नेपालगन्जबाट कोहलपुरमा स्थापना गर्ने क्रममा तत्कालीन जिल्ला विकास समिति (जिविस) सभापति ओमप्रकाश जंश राणा, तत्कालीन कोहलपुर गाउँ विकास समिति (गाविस) अध्यक्ष लुटबहादुर रावत, हरिप्रसाद रावत, नारायणप्रसाद सिग्देल, ज्ञानेन्द्र गिरी, बलराम शर्मा, डा. अरुण कोइराला, कर्णबहादुर थापा, नरेन्द्र शर्मा पौडेल, होमप्रकाश सुवेदी जस्ता समाजसेवी एवम् राजनीतिज्ञ एवम् शिक्षा प्रेमीहरुको पहलमा कोहलपुरमा ल्याइएको थियो ।

पछि यसलाई भानुभक्त भट्टराई, नरेन्द्र न्यौपाने, अवराज खड्कालगायतका व्यक्तिहरुबाट स्तरोन्नतीसमेत गरिएको थियो । नेपालगन्जबाट कोहलपुरमा ल्याउँदा यो क्याम्पस त्रिभुवन माध्यमिक विद्यालयमा सञ्चालन भएको थियो ।

त्यसबेला ओमजंश राणा, वेदनिधि शर्मा, थानेश्वर कोइराला, लुटबहादुर रावत, डा.अरुण कोइराला, हरिप्रसाद रावत, ईश्वरीप्रसाद पौडेल, कर्णबहादुर थापा, नारायणप्रसाद सिग्देल, बलराम यादव, ज्ञानेन्द्र गिरी जस्ता व्यक्तिहरु विकास समितिमा रहेर यस क्याम्पसलाई योगदान गरेको ईतिहास पाइन्छ ।

उक्त समयमा कोहलपुर नगर विकास समितिले एक लाख रूपैयाँ आर्थिक सहयोग गरी क्याम्पसको पुस्तकालय स्थापना गरेको थियो । ३२ हजार रूपैयाँको पाठ्यपुस्तक नगर विकास समितिले प्रदान गरेको थियो । तत्कालीन समयमा त्रिभुवन माविबाट यस संस्थालाई छुट्टै स्थापना गर्नका लागि नगर विकास समितिबाट ००–०३–१२ जग्गा उपलब्ध गराइ हाल क्याम्पस रहेको स्थानमा सार्ने काम गरिएको थियो ।

यस क्याम्पसको भौतिक पूर्वाधार निर्माण गर्नका लागि आर्थिक स्रोत जुटाउन तत्कालीन स्थानीय नेतृत्वलगायत समाजसेवीबाट पहल कदमी भएको थियो । कोहलपुर गाविसले मालपोतबाट उठ्ने रकमको एक प्रतिशत करबाट सुरु गरी तत्कालीन रझेना, वनकटवा, गनापुर, चिसापानी, शम्शेरगन्ज, ढकेरी, नौवस्ता स्थानीय निकायबाट पनि क्रमशः ४ र ३ जना रहेका थिए ।

२०५५ सालमा स्नातक तहमा मानविकी संकायको सम्बन्धन त्रिविबाट प्राप्त गरेको थियो । त्यसबेला मानविकी संकायमा विद्यार्थीको चाप बढेको थियो । २०५० सालमा उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ र १२ को स्वीकृति लिएपश्चात यस क्याम्पसमा विद्यार्थीहरुको संख्या निकै धेरै थियो । २०६१ सालमा स्नातक तह (बिएड) शिक्षाशास्त्र संकायको अनुमति लिएपश्चात उक्त संकायमा एक सय २० जना, कक्षा १२ तिर ‘ए’ देखि ‘एफ’ सेक्सनसम्म विद्यार्थीको चाप थियो भने मानविकी संकायमा विद्यार्थी कम भइसकेका थिए ।

२०६२ सालमा बिबिएसको अनुमति प्राप्त गरेको थियो । २०६६ सालमा एमएडमा चार विषयमा अनुमति प्राप्त गर्दासमेत विद्यार्थीहरुको चाप एक हजार पाँच सयदेखि एक हजार आठ सयसम्म थिए । २०७१/०८/०५ मा मध्यपश्चिम विश्वविद्यालयको सिनेटको बैठकले तत्कालीन प्रधानमन्त्री शुशिल कोइरालाको चाहनाअनुरूप यस क्याम्पसलाई आंगिक क्याम्पस बनाउने निर्णय थियो । उक्त कार्यलाई नेपाल सरकार मन्त्रिपरिषद् २०७४/०६/०२ को बैठकले दरबन्दी स्वीकृत ग¥यो ।

हाल क्याम्पसले कक्षा ११ र १२ लाई हटाइ सकेको छ । हाल यस क्याम्पसले स्नातक तहमा शिक्षाशास्त्र संकायतर्फ बीएड, व्यवस्थापन संकायतर्फ बिबिएस र मानवीकी बीए तथा स्नातकोत्तरतर्फ शिक्षाशास्त्र संकाय एमएड (पाठ्यक्रम तथा मूल्यांकन, स्वास्थ्य शिक्षा, अंग्रेजी शिक्षा तथा नेपाली), मानविकी संकायमा ग्रामीण विकास आरडी र व्यवस्थापन संकायको पठनपाठन गराउँदै आएको छ ।

हाल स्नातक तहको शैक्षिक सत्र २०७८ को नयाँ भर्नाको लागि आवेदन खुला गरेको छ । यस क्याम्पसमा बृृहत् पुस्तकालय, ई–लाइबे्ररी, फ्री वाइफाइको सुविधा छ । समय समयमा शैक्षिक भ्रमणको व्यवस्था रहेको छ ।

निकै शान्त वातावरणमा निकै न्यून शुल्कमा पठनपाठन हुने, सरकारको शतप्रतिशत लगानीमा आमगरिब समुदायका छोराछोरीहरुको लागि स्थापित मध्यपश्चिम विश्वविद्यालयको एक मात्र आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस हो । यस क्याम्पसमा आधुनिक शिक्षण विधि तथा सामग्री, प्रविधियुक्त स्रोतसाधनको माध्यमबाट पठनपाठन हुने गरेको छ । हरियाली वातावरणमा शान्त वातावरणमा कक्षाहरु अनुभवी, योग्य प्राध्यापकहरुबाट पठनपाठन गराइन्छ ।

क्याम्पसमा प्रविधिमैत्री वातावरणमा अडियो, भिडियो प्रविधिबाट कक्षा सञ्चालन भइरहेका छन् भने क्याम्पसले मध्यपश्चिम विश्वविद्यालयले प्रदान गरेको बिबिए भवन निर्माण गरिरहेको छ । हाल यस शैक्षिक सत्रमा मध्यपश्चिम विश्वविद्यालयले न्यून शुल्कमा स्नातक तहको बिएड, बिबिएस र बिएमा सेमेस्टर प्रणालीबाट पठनपाठन गरिरहेको छ ।

जुन अन्तर्राष्ट्रिय समकक्षताको लागि महŒवपूर्ण आधार हो । समयमै परीक्षा, समयमै नतिजा प्रकाशन, परियोजना कार्यमा अभ्यस्त हुने वातावरण, स्वयम् विद्यार्थीहरु शिक्षणमा सहभागी हुनपाउने अवसर, मध्यवधी परीक्षाको व्यवस्थासमेत छ ।

आफ्नो योग्यता बढाउने अवसर प्रदान गरी यस समुदायमा रहेका गरिब, पिछडिएका, निमुखा समुदायको पहुँच पुग्ने, २१औं शताब्दिमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ । चार बर्से ८औं सेमेस्टरसम्म विद्यार्थीहरुले न्यूनतम ४३ हजारदेखि ४४ हजार रूपैयाँ मात्रमा स्नातक तहको पठनपाठन सकिन्छ । विविध शीर्षकमा १२ प्रतिशत छात्रवृतिको व्यवस्था रहेको र जेहन्दार विद्यार्थीहरुको हकमा प्रवेश परीक्षाको नतिजासँगै प्राप्त गर्न सक्ने व्यवस्था छ ।

(लेखक शर्मा मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्यांकन विभागका विभागीय प्रमुख हुन् ।)

 

प्रकाशित मितिः मङ्लबार, पुस १३, २०७८     7:19:04 PM  |