हेलिकोप्टरबाट हुम्लामा पुग्यो खाद्यान्न



सुर्खेत ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरबाट सोमबारदेखि खाद्यान्न ढुवानी गर्न थालिएको हो ।

लिमी, हल्जी, तील, जाङ र हल्जीमा खाद्यान्न ढुवानी गरिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले जानकारी दिए । चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहेकाले सो क्षेत्रमा भोकमारीको खतरा देखिएको उनले बताए ।

‘हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पु¥याइएको छ,’ प्रजिअ आचार्यले भने, ‘लिमीका लागि मात्रै ५०२ क्विन्टल खाद्यान्न ढुवानी गर्ने हाम्रो योजना छ ।’

मंगलबारसमेत सिमकोट र हिल्सामा रहेको खाद्यान्न ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिएको खाद्यान्न वितरण गरिने वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो । खाद्यान्न ढुवानीका लागि पहल गर्न संघीय सांसद रंगमती शाही लिमी पुगेका थिए ।

 

प्रकाशित मिति : २०७८ मंसिर १५ गते बुधबार