19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

अबको तीन वर्षमा उड्ने ट्याक्सी बुक गर्न सकिनेछ !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २, २०७८  

बीबीसी । 

‘उड्ने ट्याक्सी’ धेरै लामो समयदेखि फिल्म र एनिमेसनमा सुनिँदै आएको विषय हो । र २१ औँ शताब्दीको दुई दशक बितिसक्दा यो साइन्स फिक्सन सपना बल्ल पूरा हुने नजिक पुगेको छ । रिपोर्टका अनुसार २०४० सम्ममा विश्वभर ४ लाख ३० हजार बढी उड्ने ट्याक्सी जस्ता सवारी हुनेछन् ।

पछिल्लो समय डेलिभरी गर्ने ड्रोनहरु पनि बढ्दो रुपमा परीक्षण र प्रयोग गर्न थालिएको पाइन्छ । प्राविधिक विद्हरुको प्रक्षेपणमा यसको विश्वव्यापी बजार २०२८ सम्ममा ५.६ अर्ब डलर बराबर पुग्ने भनिएको छ ।

भविष्यमा ड्रोन र उड्ने ट्याक्सीले नै शहरहरुको हवाइ उडानमा अधिकतम योगदान पुर्याउने हुँदा यसलाई मध्य नजर राख्दै विभिन्न स्थलमा अब मिनी–एयरपोर्ट या ‘स्काइपोर्ट्स’ को निर्माण आवश्यक पर्ने बताइएको छ । ती मिनी–एयरपोर्टमा उड्ने ट्याक्सीहरु ल्यान्ड गर्न सकिने हुँदा मान्छेहरु जान रुचाउने ठाउँमा यसलाई स्थापित गर्नुपर्ने हुन्छ ।

क्यालिफोर्नियामा आधारिक फर्म, जोबी एभिएसन अहिले उड्ने ट्याक्सी निर्माणको कार्यमा सबैभन्दा अगाडि छ । उनीहरुले यसका लागि १ हजार भन्दा धेरै परीक्षण उडान सञ्चालन गरिसकेका छन् । यस्तोमा अब अमेरिकी उडान निरीक्षकबाट स्वीकृति प्राप्त गरि २०२४ देखि नै उनीहरुले व्यवसायिक रुपमा चलाउन थाल्ने अपेक्षा गरेका छन् ।

जोबीको उड्ने् ट्याक्सीमा चारजना यात्रु सम्म चढ्न सक्छन् र यो ३२२ किलोमिटर प्रति घण्टाको रफ्तारमा चल्नेछ ।

जोबीका प्रवक्ता ओलिभर वाकर–जोन्स भन्छन्, “मानिसहरु जहाँ काम गर्छन्, जहाँ बस्छन्, जहाँ जान चाहन्छन् हामी तिनै स्थानका नजिक हाम्रो सेवा सुरु गर्नेछौँ । त्यसैले हामी ट्रान्जिटको मोड अनि स्काइपोर्टलाई रेल स्टेसनसँग मिलाएर राख्ने लगायतका विषय सम्बन्धी ध्यानपूर्वक काम गरिरहेका छौँ । ”

जोबीले अमेरिकी पार्किङ फर्म, ‘रिफ टेक्नोलोजी’ सँग अगाडि नै सहकार्य गरिसकेको छ । यस अन्र्तगत भवनका छतमा रहेका कार पार्कलाई स्काइपोर्टमा परिणत गराउने लक्ष्य रहेको छ । साथै यसले अर्को न्युयोर्कको सबैभन्दा ठूलो घरबेटी मानिने सम्बन्धित कम्पनीसँग पनि सम्झौतामा हस्ताक्षर गरिसकेको बताइएको छ ।

वाकर जोन्स भन्छन्, “यी पार्टनरहरुसँग मिलेर हामी गाडीको बढी भीडभाड हुने जस्ता ठाउँमा स्काइपोर्ट निर्माण गरि ग्राहकहरुलाई आकर्षित गर्नेछौँ । ”

स्काइपोर्टको नेटवर्क मिलाउने कुरा अझै धेरै टाढा जस्तो देखिएपनि यो कन्सेप्टले थुप्रै अमेरिकी शहरका प्रशासनहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ । जस्तै हस्टन, लस एन्जलस र ओरलान्डोले यसअघि नै उड्ने ट्याक्सी लगायतका सवारीहरुका लागि विभिन्न संरचना निर्माण गर्ने घोषणा गरिसकेका छन् ।

यता बेलायतमा पनि सरकारको समर्थनमा देशकै पहिलो स्काइपोर्ट निर्माण गर्ने तयारी भइरहेको छ । विश्वकै सबैभन्दा सानो विमानस्थल बन्ने लक्ष्य सहित सो फर्मले शून्य उत्सर्जनको नीति विश्वका अन्य क्षेत्रले पनि अपनाउने र सडकमा चाप घटाउनुका साथै वायु प्रदुषणमा पनि कटौति गर्न योगदान पुर्याउने अपेक्षा गरेको छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २, २०७८     9:48:48 AM  |