अनेरास्ववियू बाँकेको शुभकामना आदानप्रदान



नेपालगन्ज ।

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले दसैं तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । बिहीबार एमाले पार्टी कार्यालय बाँकेमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विद्यार्थीहरुलाई पार्टीको संगठनप्रति प्रतिबद्ध हुन सुझाइएको छ ।

कार्यक्रममा संघीय सांसद नन्दलाल रोकायाले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी गरे । विकास र समृद्धितर्फ भइरहेको काम देखेर विपक्षीहरु अदालतको शरणमा जाँदै सरकार ढालेको उनको आरोप छ । उनले विद्यार्थीहरुलाई शुभकामना दिँदै पार्टी, संगठन र वैचारिक अध्ययनतर्फ आफ्नो ध्यान लगाउन अनुरोध गरे ।

अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष झपेन्द्र खत्रीले वर्तमान सरकारले तीन महिनासम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेर आफ्नो नालायकीपन देखाएको जिकिर गरे । उनले अहिलेको सरकार जनादेशबाट नभइ अदालतको परमादेशबाट बनेकाले अहिले अदालतसँग मन्त्रीको बार्गेनिङमै फसेको आरोप लगाए ।

यस्तै, अनेरास्ववियू बाँकेका अध्यक्ष दिनेश केसीले आगामी चुनावमा बहुमत ल्याउनेगरी आफूहरु लाग्ने बताए । उनले एमालेको सरकार हुँदा राम्रो कामको छाप जनतामा परिसकेकाले विकास र समृद्धिका लागि जनताको रोजाइमा एमाले नै भएको दावी गरे ।

कार्यक्रममा जिल्लास्थित नेताकार्यकर्ता र विद्यार्थीहरुको सहभागिता रहेको थियो । बोल्ने नेताहरुले जनसंगठनलाई बलियो बनाउँदै पार्टीलाई पहिलो बनाउन भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रबार