21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

कस्तुरीको बिना बन्यो बाहिर बाख्राको छाला र भित्र अगरबत्ति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १८, २०७८  

दाङ ।

जिल्ला प्रहरी कार्यालय दाङले बहुमुल्य प्रतिबन्धित कस्तुरीको बिनाको बाहिर बाख्राको छाला रहेको पुष्टि भएको छ ।

बरामद गरिएको कस्तुरी बिना विधि प्रयोगशालामा परीक्षण गर्दा कस्तुरीको बिना भनिएको बाहिरी भाग बाख्राको छाला र भित्र अगरबत्तिको धुपवाला सामग्री भेटिएको हो ।

बरामद गरिएको कस्तुरीको बिना खरिदबिक्री नभएकाले सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेर महान्यायाधीवक्ता कार्यालयमा सिफारिस गरेको जिल्ला सरकारी कार्यालयका सह न्यायाधीवक्ता ढकबहादुर रावतले जानकारी दिए । मुद्दा नचल्ने भएपछि प्रहरीले कस्तुरीको बिना भनेर पक्राउ परेका व्यक्तिहरु करिब एक महिनाको हिरासत बसाइपछि छुटेका छन् ।

घोराही उपमहानगरपालिका–१५ सहिदगेटस्थित एक होटलमा कस्तुरीको बिना बिक्रीका लागि मोलमोलाई भइरहेको सूचना पाएपछि प्रहरीले गएको भदौ ७ गते साँझ ३१ ग्राम २ सय मिलिग्राम तौलको बिनासहित दुई जनालाई पक्राउ गरेको पत्रकार सम्मेलन गरेर उपलब्धिको रुपमा सार्वजनिक गरेको थियो ।

जतिबेला घोराही–७ का ३३ वर्षीय मोहन बुढा र घोराही–१ का २२ वर्षीय मदन केसीलाई बिनासहित पक्राउ गरिएको बताइएको थियो । प्रहरीले कस्तुरीको बिनासहित पक्राउ गरेको दाबी गर्दै थप अनुसन्धानका लागि उनीहरुलाई डिभिजन वन कार्यालय दाङमा बुझाएको थियो ।

प्रहरीले राम्रोसँग अनुसन्धान नै नगरी व्यक्तिलाई नियन्त्रणमा लिएर सार्वजनिक गर्न हतार गर्नुले अनुसन्धान नै कमजोर रहेको यो घटनाले थप पुष्टि गरेको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले कस्तुरीको बिना नै प्रहरीले पक्राउ गरेर वन कार्यालयलाई बुझाइएको र अरु थप अनुसन्धान गर्ने जिम्मा वन कार्यालयको भएकाले उक्त कार्यालयलाई धेरै कुरा थाहा हुने बताए ।

प्रकाशित मितिः सोमवार, अशोज १८, २०७८     9:14:01 PM  |