शुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेमा आज र भोली विद्यार्थीहरुलाई एष्ट्राजेनिका खोप लगाइदैँछ । जिल्लामा आठ वटै स्थानीय तहले आज र भोली एकैपटक अस्ट्राजेनेका खोप लगाउन लागेका हुन् । स्वास्थ्य कार्यालय बाँकेले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २७ गतेको निर्णय तथा जिल्ला कोभिड–१९ खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णय अनुसार कक्षा १२ मा अध्ययनरत १८ वर्ष उमेर पुगेका विद्यार्थीहरुलाई खोप लगाउन थालिएको जनाएको छ ।
कार्यालये जारी गरेको सूचना अनुसार ती विद्यार्थीहरुलाई परिचयपत्रका आधारमा खोप लगाउन सकिनेछ । स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्ज उपमहनगरपालिकामा ३ हजार ३ सय २० जना विद्यार्थीहरुलाई खोप दिइनेछ । उपमहनगरपालिकाले खोपको लागि चार वटा केन्द्र तोकेको छ । नेपालगञ्जका २८ विद्यालयका विद्यार्थीले तोकिएको केन्द्रमा गएर खोप लगाउन सक्ने शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
यस्तै कोहलपुर नगरपालिकामा १ हजार ८ सय ३२ जना विद्यार्थीहरुलाई खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ । कोरोना फोकल पर्सन गेहराज खनालका अनुसार विद्यार्थीहरुलाई खोप दिनको लागि तयारी भइरहेको छ । गाउँपालिकाहरुमा बैजनाथ गाउँपालिकाले पनि त्यसको तयारी थालेको स्वास्थ्य शाखाले जनाएको छ ।
बैजनाथ गाउँपालिकामा २२० जनालाई खोप लगाइनेछ । यस्तै स्वास्थ्य कार्यालय बाँकेले खजुरा गाउँपालिकामा २५०, डुडुवा गाउँपालिकामा ५०, नरैनापुर गाउँपालिकामा २६ जना र राप्तीसोनारी गाउँपालिकामा ४६० जना विद्यार्थीलाई खोप लगाइनेछ । जिल्लाको जानकी गाउँपालिकामा भने खोप नलगाउने कार्यालयले जनाएको छ ।
यसअघि जिल्लामा पहिलो चरणमा कोरोनाका फन्टलाइनरहरुबाट सुरु भएको खोप अभियान कर्मचारी, सवारी चालक र वृद्धावृद्धाहरुले खोप लगाइएको थियो । अहिलेसम्म बाँके जिल्लामा भेरोसेल, जोनसोन र अस्ट्राजेनेका खोप लगाइएको छ । जिल्ला आठ वटै पालिकामा खोप अभियान सञ्चालन भइरहेको छ ।
बाँकेमा कक्षा १२ का १८ वर्ष माथिका बिद्यार्थीलाई आठवटै पालिकामा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका खोप दिन लागिएको हो । बाँकेमा ६ हजार १ सय ५८ जना विद्यार्थीलाई खोप दिने लक्ष्य छ । आफ्नो परिचय पत्र र परीक्षाको प्रवेश पत्र लिएर खोप लगाउन खोप केन्द्रम जान स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले बताए ।
प्रतिक्रिया दिनुहोस्