कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकाले बाल राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । नगरपालिका अन्तर्गत रहेको बाल अधिकार समितिले नगरपालिकामा पहिलो पटक बाल राहत कोष स्थापना गर्ने निर्णय गरिएको हो । समितिको बैठक बसेर बालबालिकाहरुको उद्धार, राहत र व्यवस्थापनका लागि राहत कोष स्थापना गरिने जनाइएको छ ।
नगरपालिका क्षेत्रमा विभिन्न किसिमका हिंसामा परेका असहाय, टुहुरा तथा बेसाहारा बालबालिकाहरुलाई उद्धार गरी आर्थिक सहयोग गर्नको लागि कोष स्थापना गर्ने निर्णय गरिएको कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीले जानकारी दिइन् । नगरस्तरीय बाल अधिकार समितिकी अध्यक्ष समेत रहेकी चौधरीले बेचबिखनका घटनामा परेर उद्धार गरी ल्याएका बालबालिकाहरुको लागि आर्थिक रुपमा सहयोग गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
उक्त बैठकमा आर्थिक वर्ष २०७७÷०७८ मा कोहलपुर नगरपालिकाको महिला तथा बालबालिका शाखाले बालबालिका सम्बन्धि गरेका कामहरुको बारेमा जानकारी गरिएको थियो ।‘नगरपालिका क्षेत्रका बालबालिकाहरुको सुरक्षाको विषयमा गम्भीर छलफल भएको छ ।उनीहरुको सुरक्षाको लागि कोष स्थापना गरिने निर्णय भएको छ । सोही अनुसार अघि बढ्छौँ । ’ उनले भनिन् ।
गत आर्थिक वर्षमा नगर क्षेत्रमा बालबालिकाहरुको क्षेत्रमा सहयोग पुग्नेगरी वडा स्तरिय बाल अधिकार गठन, क्लब गठन, अन्र्तक्रिया कार्यक्रम, किशोरीहरु माझ आत्मरक्षा सम्बन्धी तालिम, बालविाह न्यूनिकरण लगायतका विषयमा कार्यक्रम सम्पन्न गरेको बताइएको थियो । उप–प्रमुख चौधरीले कोहलपुर नगरपालिकामा बेवारिसे बालबालिका मुक्त क्षेत्रको रुपमा विकास गर्नको लागि नयाँ अवधारणा अनुसार काम गर्ने जानकारी दिए ।
समितिको बैठकबाट कोष स्थापनाका लागि निर्णय भएको भन्दै अब कार्यपालिकामा पेस हुने उनको भनाइ थियो । कार्यपालिकाबाट कोषलाई नगरपालिका अन्तर्गत रहनेगरी पारित गर्ने र कार्यविधि बनाएर अघि बढ्ने उनले बताएकी छन् ।कोषमा नगरपालिकाका साथै नगरक्षेत्रमा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था, सरोकारवाला र व्यक्ति समेत जोडिनेछन् । यस्तै कोषमा संस्थागत तथा व्यक्तिगत रुपमा समेत सहयोग गर्न गरिनेछ ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले बालबालिका सबै पक्षसँग जोडिएको हुनाले कोहलपुर नगर शिक्षाले बालविकास कक्षामा विशेष ध्यान दिएको बताएका थिए । बैठकमा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्