कोहलपुरमा हाल ६५ जना सक्रिय कोरोना संक्रमित छन् । दोस्रो चरणको लकडाउनको अवधिमा ६५ जनाको मृत्यु भएको हालसम्म कुल ७२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । पहिलो चरणको कोरोना संक्रमणदेखि अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या ४ हजार १ सय ३८ जना रहेको छ ।
कोहलपुर
तीन प्रदेशको ट्रान्जिटको रुपमा रहेको कोहलपुर नगरपालिकामा कोरोना संक्रमणको उच्च जोखिम बढ्दै गएको छ । दोस्रो भेरियन्टको समयमा ठूलो संख्यामा मानवीय क्षति व्यहोरेको कोहलपुरमा संभावित तेस्रो लहरको उच्च जोखिम बढेको हो । दोस्रो चरणको कोरोना संक्रमणको समयमा मात्रै कोहलपुरमा ६५ जनाको मृत्यु भएको थियो । पछिल्लो समय सरोकारवाला निकायले उचित ध्यान नदिदाँ कोहलपुर क्षेत्र कोरोना संक्रमणका दृष्टिले असुरक्षित बनिरहेको छ ।
साउन महिनाको तथ्यांक मात्रै हेर्दा पनि दैनिक न्युनतम ३ जना देखि अधिकतम २१ जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ । बिहिबार मात्रै जिल्लामाभर २३ जना कोरोना संक्रमित थपिदाँ कोहलपुरका मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । साउन १२ देखिको तथ्यांक हेर्दा समेत कोहलपुरमा कोरोना संक्रमणदर बढिरहेको छ । पछिल्लो समय स्थानीय प्रशासनले निषेधाज्ञा खुकुलो बनाएसँगै कोहलपुर नगरपालिकामा कोरोना संक्रमण बढिरहेको हो ।
गत साउन १२ गते कोहलपुरमा ३ जना, १४ गते ६ जना, १५ गते ३ जना, साउन १६ गते ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । साउन २१ गते मात्रै कोहलपुरका २१ जनामा कोरोना संक्रमण पुष्टि भयो । कोहलपुरमा सबैभन्दा बढी कोरोना संक्रमित वडा नम्बर ११ का रहेका छन् । नगरपालिकाका प्रमुख केन्द्रको रुपमा रहेको वडा नम्बर ११ कोरोना संक्रमणको हटस्पट बन्ने जोखिम समेत बढिरहेको छ । जिल्लामा पनि तेस्रो लहरको कोरोना संक्रमणको संभावना उच्च बनिरहेको बेला कोहलपुर झन जोखिम क्षेत्रका रुपमा रहेको छ । बाँके जिल्ला नै तेस्रो लहरको कोरोना संक्रमणको उच्च जोखिमयुक्त जिल्लाका रुपमा रहेको छ ।
नगर स्वास्थ्य शाखा कोहलपुरका अनुसार अहिले कोहलपुरमा सक्रिय संक्रमितको संख्या ६५ पुगेको छ । कोरोना फोकल पर्सन गेहराज खनालले पनि साउन महिनामा कोरोना संक्रमण बढिरहेको बताए । उनका अनुसार पछिल्लो समय नगर क्षेत्रमा दैनिक जसो कोरोना संक्रमित थपिरहेका छन् । कोहलपुरमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको उनको भनाइ छ । सम्भावित तेस्रो चरणको कोरोना संक्रमणको पूर्वतयारी समेत थालिएको उनले बताए ।
अहिले कोहलपुर नगरपालिकाले हप्ताको दुईदिन पीसीआर परिक्षण गरिरहेको छ । केहीदिनमा संक्रमित बढ्दै गएमा साताभरी नै कोरोना परिक्षण गरिने उनले बताएका छन् । यस्तै नगर स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठक बसेर आगामी रणनीति तय गरिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।
कोरोना संक्रमित बढ्दै गएमा कोभिड अस्पताल सञ्चालन, आइसोलेसन सेन्टरललाई पुनःप्रयोगको लागि तयारी लगायतका काम शुरु हुनेपनि बताइएको छ । यता कोहलपुर नगरपालिकाका प्रमुख लूट बहादुर रावतले तेस्रो चरणको कोरोना संक्रमण विरुद्ध नगरपालिका रोकथाम तथा नियन्त्रणमा लागिसकेको बताए ।
उनका अनुसार केहीदिन पहिले बसेको नगर कार्यपालिकाको बैठकले नगरका १५ वटै वडामा सक्रियता बढाउने निर्णय भएको छ । वडा स्तरमा सम्पूर्ण वर्ग तथा समुदाय र बुद्धिजीवीहरुको प्रतिनिधित्व हुनेगरी संयन्त्र निर्माण गरिने परिचालन गर्ने तयारी भइसकेको समेत बताए । उनले कोभिड अस्पतालमा समेत जनशक्ति बढाएर उपचारमा समस्या हुन नदिने बताए ।
नगरपालिकाले सञ्चालन गर्दै आएको कोभिड अस्पतालमा थप एक जना डाक्टरको व्यवस्था भएको उनले बताए । हाल कोहलपुर नगरपालिकामा ६५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । अहिलेसम्म कोहलपुर नगरपालिकाका ७२ जना नागरिकले कोरोना कै कारण ज्यान गुमाएका छन् । अहिलेसम्म कोहलपुरमा ४ हजार १ सय ३८ जना नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।









प्रतिक्रिया दिनुहोस्