पश्चिम क्षेत्रमा बढ्दै राजश्व चुहावट, राजश्व चुहावट गर्ने ठूला फर्म अनुसन्धानको दायरामा



कृष्ण ओली । कोहलपुर ।

गत बैशाखको दोस्रो साता कैलालीको एक फर्मको गोदाममा राजश्व अनुसन्धान कार्यालय कोहलपुरले छापा मा¥यो ।

बिशेष सूचनाको आधारमा पुगेको कार्यालयको टोलीले छापा मारेर फर्मको गोदामबाट १ करोड १५ लाख बराबरको अवैध कपडाहरु बरामद ग¥यो । वर्षौदेखि अवैध कारोबार गरिरहेपनि उक्त फर्म कानुनी कारवाहीबाट बच्दै आएको थियो ।

अहिले भने फर्मको गोदाममा छापा मारेर सामान तथा कागजपत्र नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय कोहलपुरले अनुसन्धान अगाडी बढाइराखेको छ । यस्तै कार्यालयले नेपालगञ्ज ठेगाना रहेको अवैध एउटा फर्मबाट करोड बढीको कारोबार भएको देखिएपछि अहिले अनुसन्धान गरिहेको छ ।

अनुसन्धानकै क्रममा उक्त फर्मले अवैध कपडाकै कारोबार गर्ने खुलेको थियो । कारोबारको अनुमती नै नभएको फर्मको नाममा गैरकानूनीरुपमा सामान ओसारपसार हुने गरेको देखिएपछि कार्यालयले सुरुमा अनुसन्धानको दायरामा ल्याएको हो ।

कार्यालयले अनुसन्धान सुरु गरेपछि त्यस कार्यमा संग्लन एकजना मुख्य व्यक्ति फरार भएका छन् । उनीलाई पक्राउ गर्नको लागि अहिले पक्राउ पुर्जी समेत जारी गरिसकिएको छ । एक अनुसन्धान अधिकृतका अनुसार कारोबार नै नभएको फर्मको नाममा गैरकानूनीरुपमा सामान ओसारपसार भएको देखिन्छ ।

केही समयअघि मात्रै कार्यालयको टोलीले बर्दिया बढैयाताल गाउँपालिकामा रहेको सितला बजारको एक अवैध चिनी गोदाममा छापा मा¥यो । नेपाल भारत सीमा क्षेत्र नजिकै रहेको उक्त गोदाममा एक सप्लायर्सले भारतबाट भन्सार छली गरेर चिनी ल्याएर गोदाम गरेका थिए । गोदाममा छापा मारेर राजश्व कार्यालयको टोलीले १ सय २८ बोरा चिनी बरामद गरेको थियो । सीमा क्षेत्रमा रहेका सशस्त्र र नेपाल प्रहरीका विभिन्न युनिटलाई छल्दै भन्सार छली गरेर ल्याएर चिनी गोदाम गरिएको पाइयो ।

पछिल्ला दिनहरुमा भारतसँगको खुल्ला सीमानाको फाइदा उठाउँदै अवैध रुपमा सामानहरु भित्र्याएर राजश्व छली गरेको यसले समेत देखाउँछ । यस कार्यमा ठूला गिरोहरुको संग्लनता समेत देखिन्छ ।

पछिल्ला दिनहरुमा कार्यालयले राजश्व चुहावट गर्ने ठूला व्यवसायीक फर्महरुलाई समेत कानुनको दायरामा ल्याएको छ । राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत सरोज पोख्रेलले कानूनले निषेध गरेका काम गर्ने जोकोही दण्ड जरिवानाको भागिदार हुने बताए ।

‘राजश्व चुहावट गरेर सानो होस् चाहे ठूलो कसैले नसोचे हुन्छ’ उनले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भने, ‘राजश्व चुहावट गर्ने सबै कानूनी दायरामा आइरहेका छन् र आउँछन् ।’ राजश्व चुहावट बढ्दै जाँदा अनुसन्धानको दायरालाई समेत फराकिलो पारिएको छ ।

‘पछिल्ला दिनहरुमा हामीले अनुसन्धानको दायरालाई बढाएका छौं’ पोख्रेलले भने, ‘राजश्व चुहावट गर्ने केही ठूला फर्ममाथि अहिले समेत अनुसन्धान चलिरहेको छ ।’ पछिल्लो समय राजश्व चुहावट गर्दा कसैको आँखामा नपरेका विभिन्न फर्महरु कार्यालयले आक्रमक रणनीति बनाएका कारण अहिले कानूनी फन्दामा पर्न थालेका छन् ।

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत सरोज पोख्रेल

राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत सरोज पोख्रेल

विभिन्न तरिकाले सरकारलाई राजश्व ठग्न खोज्नेहरु कानूनी दायरामा आइरहेको प्रमुख अनुसन्धान अधिकृत पोख्रेलले बताए । ‘पछिल्ला समय हामीले थालेका केही ठूला फर्महरुको अनुसन्धानले समेत राजश्व चुहावटको नयाँ तरिका देखाउँछ’ उनले भने, ‘हामीले समेत सोही अनुसार नयाँ रणनीति अख्तियार गरेर अनुसन्धान गरिरहेका छौं ।’

खासगरी भारतबाट आयात गर्दा भन्सार शूल्क महंगो पर्ने बस्तुबाट राजश्व चुहावट हुने गरेको पाइएको छ । राजश्व अनुसन्धान कार्यालय कोहलपुरले उपलब्ध गराएको तथ्यांकअनुसार सवारी साधन, सुन, विदेशी मुद्रा अपचलन, कपडा, चिनी, सवारी साधनका पार्टस् लगायतमा राजश्व चुहावटको अनुसन्धान भएको थियो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा राजश्व अनुसन्धान कार्यालय कोहलपुर १ सय ७८ मुद्दामा अनुसन्धान गरी कारवाही प्रक्रिया थालेको छ । दर्ता भएका मध्ये १ सय ४६ वटा मुद्दा फर्छौट भइसकेको प्रमुख अनुसन्धान अधिकृत पोख्रेलले बताए ।

तीमध्ये १० वटा विभिन्न मुद्दाहरु अदालतमा अभियोजन गरिएको थिए । ‘विगतका वर्षभन्दा गत आर्थिक वर्षमा मुद्दाको चाप बढेको तथ्यांकले देखाउँछ’ उनले भने, ‘कपडा र खाद्यान्न र विदेशी रुपैयाँको अपचलन जस्ता मुद्दाहरु धेरै देखिएका छन् ।’ आर्थिक वर्ष २०७६/०७७ मा १ सय ४२ मुद्दामा अनुसन्धान भई कारवाही प्रक्रिया थालिएको थियो ।

कारवाहीसँगै राजश्व अनुसन्धान कार्यालय कोहलपुरले राजश्व चुहावट नियन्त्रणका लागि सचेतना अभियान समेत चलाइराखेको छ । कार्यालयले सरोकारवाला व्यवसायीहरुलाई विभिन्न समयमा सचेतनामुलक कार्यक्रम मार्फत राजश्व चुहावट नगर्न समेत एवं जागरुक गराइरहेको प्रमुख अनुसन्धान अधिकृत पोख्रेलले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन १५ गते शुक्रबार