नेपालगञ्ज–पोखरा नियमित उडान



कोहलपुर ।

नेपालगञ्ज–पोखरा रुटमा नियमित हवाई सेवा सुरु हुने भएको छ । यसअघि चार्टर्ड उडान मात्र हुने यो रुटमा अब बुद्ध एयरले नियमित उडान गर्ने तयारी गरेको हो । बुद्ध एयरले आगामी साउन १७ गतेदेखि नै नियमित रुपमा यो रुटमा हवाई सेवा सुरु गर्नेगरी उडान तालिका समेत सार्वजनिक गरिसकेको छ । यो रुटमा साताको तीन उडान नियमित हुने बुद्ध एयरले जारी गरेको तालिकामा उल्लेख गरिएको छ ।

जहाज आइतबार, बुधबार र शुक्रबार पोखराबाट बिहान ९ः१० मा उड्नेछ । जहाज १० बजे बिहान नेपालगञ्जबाट पोखरा फिर्ता हुने गरि तालिका तय गरिएको बुद्ध एयरले जनाएको छ । यसअघि नेपालमा दोस्रोपटक निषेधाज्ञा सुरु हुनुभन्दा पहिले नेपाल एशोसिएसन अफ टुर्स एण्ड एजेन्सी बाँकेले सीता एयरसँग सम्झौता गरेर चार्टड उडान गर्दै आएको थियो । यसअघि चार्टड उडान सुरु भएपनि साउन १७ गतेदेखि भने नेपालगञ्ज पोखरा रुटमा सातामा तीन दिन नियमित उडान हुन गइरहेको हो ।

बुद्ध एयरले क्षेत्रिय उडानलाई बढाउने सन्दर्भमा नेपालगञ्ज–पोखरा रुटमा उडान बिस्तारको योजना यसअघि नै सार्वजनिक गरेको थियो । नेपालगञ्ज–पोखरा रुटमा हवाई सेवा सुरु भएपछि भारतीय पर्यटकलाई समेत पोखरा आकर्षित गर्न सहज हुने यहाँका पर्यटन व्यवसायीहरुले अपेक्षा लिएका छन् । नेपालगञ्ज–पोखरा उडान नियमित भएपछि भारतीय पर्यटक नेपालगञ्ज हुँदै पोखरासम्म जान सहज हुने नेपाल एशोसिएसन अफ टुर्स एण्ड एजेन्सी बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् ।

‘नेपालगञ्ज नजिक भारतको ठूलो शहर लखनउ पर्दछ । भारतीय राजधानी नयाँ दिल्लीका पर्यटकका लागि समेत पोखरा पुग्न नेपालगञ्जबाट सहज हुन्छ’ उनले भने, ‘यसबाट नेपालगञ्जको आर्थिक विकासमा समेत पक्कै सहयोग पुग्छ ।’ नेपालगञ्ज–पोखरा उडानको एकतर्फी भाँडा न्यूनतम चार हजार ९३५, मध्यम पाँच हजार ५३५ र अधिकतम पाँच हजार ९ सय ३५ तोकिएको बुद्ध एयरले जनाएको छ । यो रुटमा यात्रुहरुको चाप बढेमा निकट भविष्यमा दैनिक पनि हवाई उडान गर्न सकिने बुद्ध एयरले जारी सूचनामा उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ९ गते शनिबार