क्षितिज मगर, कोहलपुर :
दैनिक सयौंको संख्यामापूर्व पश्चिम गर्छन् यात्रुहरु । कर्णालीको डोल्पादेखि लुम्बिनीका पहाडी जिल्लाबाट आउनेहरु यहीँबाट रुपैडियासम्म पुग्छन् । उनीहरुको एउटै गन्तव्य हो कोहलपुर बसपर्क ।
यहाँ यात्रुहरु निकै हतारमा भेटिन्छन् । विभिन्न उद्देश्यले आएका यात्रुहरुको भोक मेटाउन लस्करै छन्, व्यवसायीहरु । बसपार्कमा फुटपातमा व्यवसाय गर्नेदेखि आलिसान भवनमा व्यवसाय गर्ने समेत छन् ।

बसपार्कमा रहेको पिपलको बोटमुनी मकै बेचेर जिविकोपार्जन गर्दै आएकी छन्, भविसरा सुनार । घाम लाग्दा गर्मीको सकस, पानी पर्दा झरीको सास्ती । रुखमुनी छाता राखेकी छन् । पुरानो बोरामा केही थान मकै छन् ।
करिब ४० डिग्रीको घाममा टाउँकोमा सलको पट्टि बाँधेकी उनी आँगोमा मकै पोलिरहेको अवस्था भेटिन्छिन् । प्रचण्ड गर्मी होस या मुसलधारे पानी पिपलको रुख मुनीको छेउमा छेउले पसिना पुछ्दै आगोलाई फु–फु गर्दै ठूला–ठूला सुकेका मुढा जोडेर बालेको आगोमा मकै पोल्ने उनको दैनिकी हो ।
पाकेको ७–८ वटा मकै पुरानो क्रेटमाथि राखिएको छ । मिसन टुडे त्यहाँ पुग्दा भने उनी स्टिलको थालमा राखेर ग्राहक पर्खिरहेकी थिइन् ।
करिब आधा घण्टाको पर्खाइपछि रित्तिएको थाल भर्न फेरी मुढामा राप बढाउन फु–फु सुरु हुन्छ । यसरी नै आठ वर्ष बिताई सकेकी छिन्,भविसराले ।
समयको अभावका र हतारमा परेका यात्रुको लागि छिटो पाक्ने र बोकेर हिँडहाल्न मिल्ने खानेकुरा नै उनीहरुको रोजाइमा पर्दछन् ।यस्तै यात्रुहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न प्रकारको पसलहरु छन्, बसपार्क वरीपरी । सयौंको संख्यामा खुलेका यस्तै फुटपाथ मध्ये यात्रुहरूको भोक मेटाउने भीडमा उनको मकै व्यवसाय पनि एक हो ।
पारिवारिक आर्थिक अभावको कारण घरखर्च चलाउन मकै पोलेर बेच्न थालेकी उनी कोहलपुर नगरपालिका वडा नम्बर १४ हल्दारपरकी हुन् । बर्दियाबाट कोहलपुरमा उनको परिवार बसाइँ सरेको हो,१६ वर्षपहिले । विवाह गरेर उनी यहाँ आएकी थिइन् । अहिले उनका १ छोरा र २ छोरी छन् ।
उनका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण छोराले पढाई छाडिसके । उनले छोरीहरु भने पढिरहेको जानकारी दिइन् । उनका दुवै जेठी छोरी बोर्डिङमा पढ्थे । उनलाई सरकारी विद्यालयमा भर्ना गरिदिएको उनले बताइन् । कान्छी चाहिँ बोर्डिङ मै भएको र अर्को वर्ष त्यसलाई पनि सरकारी विद्यालय मै पढाउने जानकारी दिइन् ।
‘कोरोनाले त्यति व्यापार पनि भएन । घर चलाउनै गाह्रो भयो । तर भोको बस्नु परेको छैन । राम्रो कमाई पनि छैन ।’ उनी भन्छिन् ।
उनी दैनिक पाँच किलोमिटर यात्रा गरेर हवल्दारपुरबाट मकै पोलेर बेच्न बसपार्क प्रत्येक दिन साँझ–बिहान ओहोरदोहोर गर्छिन ्।
मिसन टुडे दैनिकसँग आफ्नो दुःख सुनाउँदै उनले भनिन्, ‘गाह्रो छ बाँच्न ।मकै बिक्री भएन भने चुल्हो बल्दैन । बिक्री नभए अर्को दिनलाई राख्छु । यसैले खर्च पनि चलाउनुपर्छ ।’ दिनमा मुस्किलले पाँच सय देखि १ हजार रुपैयाँसम्म कमाई हुने उनले बताइन् ।
हवल्दारपुरमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी छन् । पाँच वर्षअघि उनको श्रीमान काम गर्न विदेश गएका थिए । दुई वर्ष बिताएर नेपाल फर्के ।
आफ्नो विगत सम्झिदै उनी भन्छिन्, ‘काठमाडौँ आएको छु । लिन आउ भने । मकै छाडेर श्रीमान भेट्न गए । तर भेटिएनन् ।’ आँशु पुछ्दै उनी आफ्नो विगत सुनाउँछिन् ।
छोराले भिडियो कल गरिरहन्थे, बिहान फोन गरेछ फोन लागेन भनिन्। मैले पनि घर आएर फोन गरें फोन नै लागेन । त्यसपछि त सम्पर्कै भएन । आजसम्म पनि न त छोराछोरी न त उनीसँग कसैसँग पनि सम्पर्क छैन उहाँको । मरे की ज्युदो छन् केही पनि पत्तो छैन । उनी भने हरेक दिन श्रीमानको सम्झनामा टोलाउने गर्छिन् ।
मन्द हाँसो र मलिन स्वरमा उनले भनिन ,के भन्ने हो र दुःख दिने मान्छेलाई आफ्नो दुःख गरेर खानु छ । अब भेटे पनि मलाई केहि सरोकार छैन । छोराछोरीलाई बिहे खर्च दिए हुन्थ्यो । अरु के भन्ने हो र ! आफू बिरामी परेको बेला चाहिँ साह्रै गाह्रो हुन्छ, धान्नै पर्यो । ’ यत्ति भनेपछि भविसराले लामो सुस्केरा हालिन् ।









प्रतिक्रिया दिनुहोस्