लमहीबाट प्रजिअको सेवा



शिवु खनाल । दाङ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले प्रत्येक शुक्रवार आफै स्वयम् उपस्थित भएर जनताको सेवामा खट्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार लमहीमा कार्यकक्ष स्थापना गरी प्रमुख जिल्ला अधिकारीको रुपमा सेवाको शुरुवात गरेका उनले जिल्लाको भु—बनोट लाई हेरेर सबै क्षेत्रमा उपस्थिती गराउने हेतुले काम थालिएको बताए ।

‘दाङको भु—बनोट हेर्दा तीन वटा उपत्यका जस्तो मानियो । तुलसीपुर, घोराही र देउखुरी यी तीनवटै क्षेत्रमा रहेर जनताको सेवामा लाग्नुपर्ने आवश्यकता देखेर प्रत्येक शुक्रवार लमहीबाट प्रमुख जिल्ला अधिकारी सहितबाट हुन सक्ने सबै सेवा दिन थालेका हौं’ उनले भने, ‘सुरक्षा व्यवस्था, विपद व्यवस्थापन, विवाद निरुपण, तीन तहका सरकार बीचको समन्वय लगायतको काम प्राथमिकतामा राख्दै विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न पहल थाल्नेछु ।’

दाङमा अवैध क्रसरको समस्या उस्तै रहेको भन्दै अवैध उत्खनन् रोक्न आफ्नो क्षेत्रबाट पहल थाल्ने तर सबैको सहयोग आवश्यक रहेको उनले तर्क गरे । यस्तै घोराही तुलसीपुर चारलाइन सडक खण्डको कार्य प्रगती सन्तोषजनक नभएकोले यसमा समेत आफ्नो पहल जारी रहने उनले बताए ।

देउखुरीमा प्रदेशको स्थायी राजधानी ल्याउने कार्यपनि उत्तिकै प्राथामितामा रहेकाले बुटवलमा रहेका मन्त्रालय स्थायी राजधानी सार्ने विषयमा आफ्नो तर्फबाट गर्नुपर्ने सहजीकरण पनि जारी रहेको उनको भनाई रहेको थियो । ईलाका प्रशासन कार्यालयमा लमहीमा पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले पत्रकारलाई आवश्यक पर्ने सूचना दिन सहजै उपलव्ध गराइने समेत प्रतिबद्धता जनाएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ साउन २ गते शनिबार