16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

जुम्लामा जातीय विभेद प्रकरण : अन्नत प्रहरीमा दर्ता भयो ,जातीय विभेद विरुद्धको मुद्धा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८  

जुम्ला : जुम्लामा पहिलो पटक जातीय विभेद विरुद्धको मुद्धा दर्ता भएको छ । जिल्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कालिबहादुर बुढा र उनका छोरा नविन बुढा विरुद्ध जातीय विभेद विरुद्धको मुद्धा दर्ता भएको हो ।

नेपाल मजदुर किसान पार्टीबाट स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष निर्वाचित भएका बुढा र उनका छोराले कार्यकक्ष भित्रै वडा नम्बर ६ कै दलित युवा विवेन्द्र नेपाली माथि जातीय विभेद गरेका थिए ।

पीडित विवेन्द्र नेपालीले आफूले वडामा भएको विकासको विषयमा वडा अध्यक्ष बुढाले सार्वजनिक रुपमा दिएको अभिव्यक्तिको विषयमा टिप्पणी गरेपछि आफूमाथि विभेद भएको भन्दै जिप्रका जुम्लामा मुद्धा दर्ता गर्न खोजेका थिए । तर विगत दुई दिन देखि जुम्ला प्रहरीले मुद्धा दर्ता गर्न मानेको थिएन ।

शुक्रबार जिल्लाका दलित युवा तथा अधिकारकर्मीहरुको चर्को दवाबपछि प्रहरी मुद्धा दर्ता गर्न बाध्य भएको हो । अधिकारकर्मी गोविन्द्र सुनारले दुई दिनको अथक प्रयासपछि मुद्धा दर्ता भएको बताए ।

उनका अनुसार विवेन्द्र नेपाली आवेदक रहेको उक्त मुद्धा दर्ता नम्बर ८४ मा दर्ता भएको छ । मुद्धा दर्ता हुनु राम्रो कुरा भएको भन्दै उनले अब दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

मुद्धा दर्ता भएपछि आफूलाई विभेद गर्ने पीडकले कारबाही भोग्ने आश लागेको पीडित विवेन्द्र नेपालीले बताएका छन् । अधिकारकर्मी धनराज सुनार दोषीलाई कानुनी दायरामा ल्याउन र कारबाहीको लागि शसक्त रुपमा अघि बढनुपर्ने बताउँछन् ।

प्रकाशित मितिः शुक्रबार, असार २५, २०७८     2:49:30 PM  |