डिल्ली शाही, कोहलपुर ।
कोहलपुर नगरपालिकाका ११ वडामा रहेको एकता नगरको बस्ती जोगाउनका लागि पक्की नाली बन्ने भएको छ । विपद्को समयमा कोहलपुर नगरपालिकाले कार्यापालिकाको बैठकबाट एकता नगर नै जोखिम रहेकोले उक्त क्षेत्रमा तत्काल पक्की नाली बनाउनुपर्ने भन्दै निर्णय गरेको छ ।
डुडुवा खोलामा वर्षनी आउने बाढिका कारण खेतीयोग्य जनिम कटान र एकता नगरका बासिन्दाहरु उच्च जोखिममा परेका छन् । नेपालमा मनसुन सुरु भएको केही दिनमा नै एकता नगरको बस्ती जोखिममा परेको हो । यस्तै मिसन टुडे राष्ट्रिय दैनिकको असार ३ गतेको पत्रिकामा ‘पक्की नाली नहुँदा बस्ती जोखिम’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो ।
सोही समाचार प्रकाशित भएपछि असार ४ गते नै एकता नगर बस्ती जोगाउन पक्की नाली बनाउन आवश्यक रहेको भन्दै कोहलपुर नगरपालिकाले कार्यापालिकाको बैंठकबाट नै पारित गरेको थियो ।
यस्तै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले एकता नगरको बस्ती पूर्ण रुपमा जोखिम रहेकोले अहिले तत्काल काम गर्नुपर्ने भएकोले बजेट विनियोजन गरिएको बताए । उनका अनुसार यदि हामीले अहिले पक्की नाली नबनाउने हो भने त्यहाँका ६० घर विस्तापित हुनेछन् त्यसैले अहिले यो काम थालनि गरिएको उनको भनाई थियो ।
यस्तै कोहलपुर नगरपालिका इन्जिनियर बालकृष्ण महतरा क्षेत्रीका एकता नगरको पक्की नाली बनाउनका लागि ५६ लाख रकम बराबरको स्टिमेट बनाएको बताए ।
उनका अनुसार स्टिमेटमा २.५ मिटर चौडाई, १.५ मिटर उचाई, ९० साइजका ६ वटा होमपाइप र रिटेनिङ्ग वाल समेत रहेको क्षेत्रीको भनाई थियो । ‘अहिले तत्कालका लागि बस्ती जोगाउन १ सय मिटर पक्की नाली बनाउने र अर्को आर्थिक वर्षमा १ सय मिटर नाली बनाउने लक्ष्यका साथ काम भएको छ, उनले भने, ‘यसको पुरा स्टिमेट ८६ लाख रकम बराबरको रहेको छ ।’ यसको काम अबको १५ दिन भित्र नै सक्नेगरी काम गर्ने तयारी गरेको इन्जिनियर क्षेत्रीले बताए ।
रावतको अध्यक्षतामा उपभोक्ता समिति गठन
एकता नगरको बस्ती जोगाउनका लागि पक्की नाली बनाउनका लागि रोशन रावतको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको छ । जसको सचिवमा दिर्घ बहादुर शाही, कोषध्यक्ष सविता गिरी रहेका छन् । यस्तै सदस्यहरुमा दान बहादुर रोकाय, जानकी खड्का, मान बहादुर विक, डम्बर बहादुर कार्की, शेर बहादुर पुन, तारा बुमि रहेका छन् ।
यस्तै उपभोक्ता समितिका अध्यक्ष रावतले कोहलपुर नगरपालिकासंग आज सम्झौता गरी काम अघि तुरुन्त बढाउने बताए । कोहलपुर नगरपालिकाले अपेक्षा गरे अनुसारको १५ दिनभित्रै काम गर्ने प्रतिबद्धता गर्दै इन्जिनियरले बनाएको स्टिमेट अनुसार गुणस्तरीय काम गर्ने उनको भनाई थियो । नगरपालिकासंग ५३ लाख १२ हजार रकम बराबरको सम्झौता गर्ने र अन्य जनश्रमदानबाट काम गराउने उपभोक्ता समितिका अध्यक्ष रावतले बताए ।