19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

बिरामीलाई रगतको अभाव

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, असार ६, २०७८  

शिवु खनाल । दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नम्बर, ८ पिपरीका नोविट चौधरी सिकलसेलका बिरामी हुन् । शरिरमा रगत उत्पादन नभएपछि उनले प्रत्येक महिनाको पहिलो हप्ताभित्र लमही अस्पतालबाट शरिरमा रगत चढाउनुपर्छ । शरिरमा रगत उत्पादन नभएपछि सिकलसेलको बिरामीले उमेर अनुसार रगत शरिरमा चढाउँनुपर्ने हुन्छ । चौधरीको रगतको समुह ए पोजेटिभ हो ।

महिनापिच्छे लमही अस्पतालबाट शरिरमा रगत चढाउँदै आएका उनले असार महिनामा भने रगत पाउन सकेनन् । सबैतिर खोज्दा समेत कतै रगत नपाइएपछि नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीमा कार्यरत कार्यालय सहयोगी आशाकुमारी चौधरीले रगत दिइन् । ‘नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीबाट उहाँले आवश्यक परेको रगत लगेर चढाउँदै आउनुभएको थियो’ उनले भनिन्, रगत अभावका कारण यसपटक आवश्यक परेको मैले दिए ।’

नोविटको शरिरमा जम्मा पाँच पोइन्ट मात्रै रगत रहेको थियो । ‘मैले भर्खरै रक्तदान गरेको थिए तर, रगतको समस्या देखेर समय नपुगेपनि रगत दिने निधो गरेकी हुँ’ आशाकुमारीले भनिन्, ‘मेरो रगतको समुह पनि ए पोजेटिभ हो, उहाँको स्वास्थ्य अवस्था देखेर समय नपुगेपनि रगत दिन मन लाग्यो ।’

जन्मदीनमा रक्तदान

देउखुरीका युवा व्यवसायी ओमप्रकाश बसेलले आफ्नो २९ औं जन्मदीनका अवसरमा रक्तदान गरेका छन् । उनले शनिवार बिहान लमही स्थित नेपाल रेडक्रस सोसाईटी लमही उप–शाखा पुगेर रक्तदान गरेका थिए । अनावश्यक फजुल खर्च गरेर मनाउनु भन्दा रगतको अभावमा ज्यान जोखिममा परेकालाई सहयोग गर्न आवश्यक देखिएकोले रक्तदान गरेको युवा ब्यवसायी बसेलले बताए ।

‘जिल्लामा पटकपटक रगतको अभावले ज्यान गुमाएको खबर सुन्ने गरिन्छ, त्यस्ता घटनामा हाम्रै गाउँघरका इष्टमित्र पनि पर्ने गर्छन्, त्यस्ता जोखिमयुक्त घटनाबाट सबै मुक्त हौं भनेर मेरो जन्मदिनमा आफुले पनि रक्तदान गरेको हुँ’ उनले भने, ‘साथीभाईलाई पनि रक्तदान गर्नु पर्छ भनेर आग्रह गरे । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् ।’

शनिवार १३ जनाको समुहले लमहीमा रक्तदान गरेको थियो । यता नेपाल रेडक्रस सोसाईटी उप–शाखा लमहीका इञ्चार्ज मनिषाकुमारी चन्दले लमही डायलाइसिस सेन्टर र लमही अस्पतालमाबाट बिरामीहरुले रगत लिनको लागी आएकोे गरेको जानकारी दिइा् । ‘रक्तदान नै जिवन दान हो’ भन्ने मान्यता र बिरामिलाई रगत अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ जन्मदीनको अवसरमा रक्तदान गर्न विभिन्न व्यक्तीहरु आउने गरेको उनले बताइन् ।

प्रकाशित मितिः आइतवार, असार ६, २०७८     7:36:02 AM  |