नेपालगञ्ज ।
पछिल्लो २४ घण्टामा शनिवार बाँकेमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १० जनामा संक्रमण देखिएको हो । तीन वटा प्रयोगशालामा १ सय २ वटा नमूना परीक्षण गर्दा बाँकेका १० सहित १६ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रवार भने बाँकेमा एक जनामात्रै कोरोना संक्रमित थपिएका थिए ।
पछिल्लो २४ घण्टामा शनिवार भने ८ महिला र २ पुरुषमा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १ महिला र १ पुरुष गरी २ जना, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ६ महिला र १ पुरुष गरेर ७ जना तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १ महिलामा संक्रमण देखिएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ९३ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
उनका अनुसार संक्रमितमध्ये ७ हजार २ सय ३१ महिला र ९ हजार ७ सय ५७ पुरुष रहेका छन् । शनिवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ३ महिला र ३ पुरुष गरेर ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । पछिल्लो २४ घण्टामा १० नयाँ संक्रमित थपिदाँ थप ८ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीका अनुसार ३ महिला र ५ पुरुष गरेर ८ जना कोरोना जितेर डिस्चार्ज भएका हुन् ।
योसँगै बाँकेका कोरोना जितेर घर फर्किनेहरुको संख्या १६ हजार ९ सय ८८ पुगेको छ । तीमध्ये ७ हजार २ सय ३१ महिला र ९ हजार ७ सय ५७ पुरुष रहेका छन् । पछिल्लो ४८ घण्टामा बाँकेका संक्रमितको मृत्युदर भने शून्य रहेको थियो । बाहिरी जिल्लाका संक्रमितको भने बाँकेका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा बाहिरी जिल्लाका थप २ संक्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै बाँकेमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय २९ महिला र १ सय ४६ पुरुष गरेर ३ सय १० पुगेको छ । बाहिरी जिल्लाबाट उपचारका लागि आएका १ सय ८ महिला र २ सय ३७ पुरुष गरेर ३ सय ४५ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म बाँकेका अस्पतालमा जिल्लाका र बाहिरी जिल्लाका गरेर ६ सय ५५ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।
तीमध्ये २ सय ३७ महिला र ४ सय १८ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । बाँकेका शनिवार साँझसम्म सक्रिय संक्रमितको संख्या ४९ महिला र ४६ पुरुष गरेर ९५ जना रहेका थिए । बाहिरी जिल्लाका ८७ कोरोना संक्रमितहरु बाँकेमा रहेका छन् ।
जिल्लामा कुल सक्रिय संक्रमितहरु भने २ सय १५ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको
छ । जिल्लाका भेरी अस्पतालको कोभिड वार्डमा ६१ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहहलपुरको कोभिड वार्डमा १३ गरेर ७४ जना कोरोना संक्रमितको उपचार भइरहेको थियो । अन्य सक्रिय संक्रमितहरु भने होम आइसोलेसनमा नै रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्