3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

वन्यजन्तुको उद्दारमा समस्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, असार ५, २०७८  

शिवु खनाल । दाङ ।

वन्यजन्तु उद्दारको लागी डिभिजन वन कार्यालय देउखुरी, दाङका वन कर्मचारी र वन्यजन्तु अनुसन्धानकर्मी सामुदायिक वन क्षेत्रमा प्रवेश
गरे । लमहीको अजम्मरी सामुदायिक वनमा शिकारीले थापेको पासोमा परेको एक हुँडार (हड्डि) बाघ फसेको थियो ।

रणसिंह दल गण अर्जुनखोला लमहीका सेनानी मनोज थापाले खबर गरे लगत्तै (हड्डि) बाघको उद्दारको लागी शुक्रवार विहान वन कार्यालय र वन्यजन्तु अनुसन्धानकर्मीको टोली सामुदायिक वन क्षेत्रमा प्रवेश गरेको हो । तर, वन्यजन्तु उद्दार सामाग्री नहुँदा वन्यजन्तु उद्दारमा समस्या प¥यो । ‘बल्लतल्ल नेट जालीको सहयोगमा हुँडार (हड्डि) बाघको उद्दार गरियो’ वन्यजन्तु अनुसन्धानकर्मी चिञ्जिवी खनालले भने, ‘वन्यजन्तु उद्दार सामाग्री नहुँदा करिब दुई घण्टा लगाएर पासोमा फसेको वन्यजन्तुको उद्दार गरियो ।

लाठी र जालीको प्रयोग गरेर वन्यजन्तुको उद्दार गर्दै वन कर्मचारी र नेपाली सेना ।

उद्दार सामाग्री नहुँदा पटकपटक वन्यजन्तु उद्दार कार्यमा समस्या आउँने गरेको छ ।’ लाठी, जालीको प्रयोग गरेर वन्यजन्तुको उद्दार गर्दै आएको खनालले बताए । ‘उद्दार सामाग्री विना फिल्डमा खटिदाँ उद्दार कार्यमा ज्यान जानसक्ने भएकाले यस विषयमा डिभिजन वन कार्यालय देउखुरी, दाङले तत्कालै उद्दार सामाग्रीको व्यवस्थापन गर्न जरुरी देखिन्छ’ उनले भने, ‘उद्दार सामाग्री नहुँदा हतियार विनाको सिपाही कहिलेसम्म हुने हो ?’ विगतका वर्षदेखि नै कुरा उठ्दै आएपनि डिभिजन वन कार्यालय देउखुरी दाङले उद्दार सामाग्रीको व्यवस्थापन गर्न नसक्दा वन्यजन्तु उद्दार कार्यमा समस्या पर्नसका साथै कठिनाई भएको हो ।

सिकारीले थापेको पासोमा परेको (हड्डि) बाघलाई बेहोस बनाउन नसक्दा कम्तीमा दुई घण्टा के गर्ने भन्नेमा नै अलमल भएको थियो । ‘बाघ छिटै उद्दार गर्ने अवस्था थिएन । रमिते धेरै भए तर काम गर्ने कोही भएन । अन्तत बल्लतल्ल लाठी, जालीको प्रयोग गरेर वनका कर्मचारी र नेपाली सेनाले उद्दार गरे’ उनले भने, ‘डार्टिङ गन हुन्थ्यो भने तत्काल बेहोस पारेर उद्दार गर्न सकिन्थ्यो । उद्दार सामाग्री नहुँदा गएर रमिते बन्नेभन्दा अरु केही उपाय भएन । उद्दारमा कठिनाइ मात्रै होइन, वन्यजन्तुको अकालमा मृत्यु समेत हुने गरेको छ ।’

नजिकैका जिल्लाहरुमा डार्टिङ गन छैन । टाढाबाट डार्टिङ गन लिएर आउन्जेल वन्यजन्तुको मृत्यु हुनसक्छ । यता डिभिजन वन कार्यालय देउखुरी दाङका सुचना अधिकारी प्रेमीला प्रसाद शाहले अहिले वन्यजन्तु उद्दारको लागी दुइवटा उद्दार खोर मात्रै भएको बताए । घाइते अवस्थामा भेटिएका वन्यजन्तु उद्दारको लागी दुइवटा उद्दार खोर बाहेक अन्य उद्दार सामाग्री छैनन् ।

घना वनजंगल भएको हुनाले लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रमा विभिन्न वन्यजन्तु पाइन्छ । दाङ जिल्लासँगै सटेको बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट पनि अजम्मरी सामुदायिक वनमा थुप्रँै वन्यजन्तुहरु आउने गरेको वनका अध्यक्ष पवन रिजाल शर्माले दाबी गरे ।

प्रकाशित मितिः शनिबार, असार ५, २०७८     8:17:43 AM  |