19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

ढलान गरेको चार दिनमै प्युठानमा निर्माणाधीन पुल बाढीले बगायो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८  

प्युठान ।

प्युठानमा निर्माणाधीन पुल अविरल वर्षापछि आएको बाढीले बगाएको छ।

प्युठानको एरावती गाउँपालिका अन्तरगत झिमरुक नदीमा निर्माणाधीन दाबरा माझी दमार पुल असार २ गते बिहान आएको बाढीले बगाएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सेतोपाटीलाई बताए।

उक्त पुल अमर कन्स्ट्रक्सन प्रालि काठमाडौंले ७ करोड १२ लाख रूपैयाँ लागतमा निर्माणको जिम्मा लिएको भए पनि पेटीमा अर्कै कम्पनीले निर्माणको काम गरिरहेको थियो।

सडक डिभिजन कार्यालय प्युठानका प्रमुख (डिई) विनोद सापकोटाले निर्माणाधीन प्रिस्टेज ब्रिज ढलाइ गरेको चार दिनमै आएका कारण बाढीले बगाएको जानकारी दिए।

‘ढलाइ गरेको चार दिनमै बाढी आयो र त्यसले पुलको टेकाहरू बगाइदिएपछि पुल बगाएको हो,’ सापकोटाले भने, ‘जसबाट निर्माण कम्पनीलाई झन्डै एक करोड रूपैयाँ बढी क्षति भएको छ।’

सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर अरुण खत्रीले ७० मिटर लामो उक्त पुलको ३५ मिटर ढलाइ यसअघि नै पूरा भइसकेको र दोस्रो ३५ मिटर ढलाइ भएको हुँदा त्यो सेट नहुँदै बाढी आएर बगाएर लगाएको बताए।

‘यो निर्माण कम्पनीको कमजोरीका कारण भत्किएको पुल हैन,’ खत्रीले भने, ‘चार दिन अगाडि ढलान गरेको पुलको टेको बाढीले बगाएपछि निर्माणाधीन पुलको केही भाग भत्किन पुगेको हो।’

प्रिस्टेज ब्रिज प्रविधिबाट निर्माण गरिने पुलमा कम्तीमा पनि ढलान गरेको १४ दिन सेट हुने समय लाग्ने भए पनि चार दिनमै ठूलो वर्षा र बाढी आएका कारण फलामे टेकोहरू बगाउँदा पुल भत्किएको इन्जिनियर केसीले तर्क गरे।

‘ढलाइ गरेको कम्तीमा दश दिन भइदिएको भए पनि पुल तन्काउन मिल्थ्यो होला,’ खत्रीले भने,‘चार दिनमै ठूलो वर्षा र बाढी आएको हुँदा त्यो सम्भव भएन र पुल धप्किन पुग्यो।’

गत २०७३/०७४ मा निर्माण सम्झौता भएको उक्त पुल यही असार मसान्तमा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो।

कोरोना महामारीले काममा केही ढिला भए पनि आगामी भदौ महिनासम्म पुल हस्तान्तरण गरिसक्ने लक्ष्य निर्माण कम्पनीको रहेको इन्जिनियर खत्रीले बताए।

पुल निर्माण कम्पनीलाई भुक्तानी नदिएको हुँदा भत्किएको पुल पुनः मर्मत गरेर हस्तान्तरण गर्नुपर्ने डिई सापकोटोले बताए।

निर्माण कम्पनीले बीमा गरेको हुँदा इन्स्योरेन्स कम्पनीबाट क्षतिपूर्ति पाउने देखिएको स्रोतले बताएको छ।

प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८     1:46:48 PM  |