5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

पत्रकारको दुर्घटना बीमा गरिने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८  

नेपालगञ्ज ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्लाका पत्रकारहरुलाई २ लाखको दुर्घटना बीमा गरिदिने निर्णय गरेको छ । महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितीको बैठकले पत्रकारहरुको दुर्घटना बीमा गरिदिने निर्णय गरेको हो । पत्रकारहरुको सम्भावित जोखिमलाई मध्यनजर राख्दै उपचारमा सघाउ पु¥याउने उद्देश्यले सम्पूर्ण सदस्य र क्रियाशिल रहेका अन्य पत्रकारका लागि समेत २ लाखको दुर्घटना बीमा गर्ने निर्णय गरेको थियो ।

बीमाले एक पटकमा बीस हजारसम्मको उपचार खर्च समेत दिने अध्यक्ष भण्डारीले बताए । ‘निर्णय चाँडै कार्यान्वयन गर्ने गरी प्रक्रिया समेत थालिएका छौं’ उनले भने, ‘यसबाट मोफसलमा रही सञ्चारक्षेत्रमा क्रियाशिल रहेका बाँकेका पत्रकारलाई आइपर्ने सम्भावित जोखिम टार्न सघाउ पुग्ने हामीले अपेक्षा लिएको छौं ।’ बैठक पश्चात महासंघ बाँकेका सचिव कमल डाँगीद्वारा जारी बिज्ञप्तीमा नेपाल पत्रकार महासंघ बाँकेको पहलमा हालसम्म जिल्लामा कार्यरत पत्रकारलाई कोरोना बिरुद्धको खोप लगाउन समन्वय गर्ने सरोकारवाला निकायलाई हार्दिक आभार प्रकट गरिएको छ ।

कोरोना बिरुद्धको अभियानमा फ्रन्टलाइनमा रही काम गर्ने धेरै पत्रकार अझैँ पनि खोप लगाउनबाट बञ्चित भएकोले चाँडो भन्दा चाँडो खोपको व्यवस्था गर्न सम्बन्धित पक्षसँग बैठकले जोडदार माग समेत गरेको थियो । साथै महासंघले लगातार आएको वर्षातका कारण बाढी, पहिरोको जोखिम बढेको भन्दै बाढीको उच्च जोखिममा रहेको बाँकेमा पूर्वतयारी गरी जनधनको रक्षा गर्न सरोकारवाला पक्षसँग आग्रह गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, असार ४, २०७८     10:06:53 AM  |