हात्तीले लियो वृद्धको ज्यान



बर्दिया ।

बर्दियाको बाँसगढीमा जंगली हात्तीको आक्रमणबाट ७८ वर्षीय वृद्धको मृत्यु भएको छ । बाँसगढी नगरपालिकाका ७८ वर्षीय नरेशवर सापकोटाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । बुधबार दिउँसो च्याउ खोज्न जंगलतिर गएका २ जनामध्ये १ जनालाई जंगली हात्तीले आक्रमण गरी ज्यान लिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीम कुमार थापाले बताए ।

बर्दिया बाँसगढीको पौरखी मध्यवर्ती सामुदायिक वनभित्र हात्तीको आक्रमणबाट उनको ज्यान गएको थियो । यसअघि जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिकामा आमा छोरीको ज्यान गएको थियो । बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाले नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गुमाएका थिए ।

पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ । निकुञ्ज प्रशासनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएको छ । भारतीय जंगल क्षेत्रबाट केही दिनअघि मात्रै जंगली हात्तीको समूह आएको पाइएकाले सर्तकता अपनाउन आग्रह गरिएको बर्दिया निकुञ्जले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार ४ गते शुक्रबार