कोहलपुर : यसवर्षको मनसुन शुरु भएसँगै बाँकेमा समेत विपद् पूर्वतयारी तीव्र पारिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति सँगै स्थानीय तह समेत विपद्को पूर्वतयारीमा जुटेका छन् । मनसुनसँगै दैनिक भइरहेको वर्षाका कारण डुबान तथा कटानको समस्या देखिन शुरु गरेको भन्दै स्थानीय तहमा रहेका स्थानीय विपद् व्यवस्थापन समिति सक्रिय भएका हुन् ।
बुधबार कोहलपुर नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कोहलपुरमा हुन सक्ने सम्भावित क्षतिका विषयमा सरोकारवालाहरुसँग बृहत छलफल गरिएको छ । छलफलमा सहभागी सरोकारवालाहरुले नगर क्षेत्रमा हुन सक्ने सम्भावित क्षति र जोखिम कम गर्न विपद् जोखिम न्यूनिकरणमा जोड दिएका छन् । उनीहरुले वडास्तरमा जोखिम कम गर्न र पूर्वतयारीका लागि वडा स्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउन आग्रह गरेका थिए ।हरेक स्थानीय तहमा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय विपद् व्यवस्थापन समिति हुन्छ ।
छलफलमा सहभागी वडा अध्यक्षहरुलाई विपद् जोखिम न्यूनिकरणका लागि वडास्तरमा सक्रिय हुन निर्देशन समेत दिइएको छ । सबै वडाअध्यक्षहरुले बैठकमा वडास्तरमा रहेका समस्या प्रस्तुत गरेका थिए । वडाहरुमा भएका समस्या समाधानका लागि नगरपालिका स्तरीय समिति मार्फत आवश्यक सामग्री उपलब्ध गराइने भएको छ । सोही अनुसार वडा तथा गाउँ स्तरमा हुन सक्ने क्षति कम गर्नको लागि एक हुन भएर अघि बढ्न आग्रह गरिएको हो ।
छलफलमा सहभागी अन्य सरोकारवालाहरुले समेत क्षति कम गर्न एकद्धारा प्रणालीबाट विपद् प्रतिकार्यमा सक्रिय हुन आह्वान गरेका थिए ।
डुबान र कटान शुरु,छैन प्रतिकार्य योजना निरन्तरको वर्षाले कोहलपुर नगरपालिकामा क्षति गर्न शुरु गरिसकेको छ । सोमबार राति परेको वर्षाका कारण नगरपालिकाका प्राय वडामा डुबान र कटान भएका कारण समस्या शुरु भइसकेको सम्बन्धित वडा अध्यक्षहरुले बताएका थिए । वडा नम्बर ४ का अध्यक्ष तिरथराम थारुले वडा नम्बर ४ को शाही टोलमा ८ वटा घर डुबानमा परेको जानकारी दिए । उनका अनुसार वडा नम्बर ४ देखि १५ नम्बर वडासम्म जाने बाटोमा कल्भर्ट निर्माण गर्नुपर्ने अवस्था आएको छ । नत्र भने त्यहाँका बस्ती डुबानमा परेर धेरै जनधनको क्षति हुनसक्ने जोखिम रहेको उनले बताए ।
यस्तै वडा नम्बर १२ का कार्याबाहक अध्यक्ष नैनबहादुर शाहीले पहिलो चरणमा वडामा चार घर डुबानमा परेको बताए । डुडुवा नालामा पहिलेदेखि व्यवस्थापन हुन नसकेका कारण सयौ घर जोखिम अवस्थामा रहेको शाहीको भनाइ छ । उनले आफ्नो वडामा तत्काल विपद् व्यवस्थापनका लागि होम पाइप तथा कल्भर्ट निर्माण गर्न आवश्यक रहेको सोको लागि तत्काल आर्थिक सहायत उपलब्ध गराउन माग गरे ।
यस्तै सुरक्षा व्यवस्था समेत कमजोर भएकोले उहाँहरुको स्थायी आवास आवश्यक परेकोमा उनले जोड दिए । यस्तै वडा नम्बर ११, १०, ५ र १३ मा किरणनाला, डुडुवानालाका कारण एकतानगर, चटार, सिमरी भरैया लगायतका क्षेत्रमा बस्ती डुबानदेखि कटानको उच्च जोखिम रहेकोले व्यवस्थापनका लागि माग गरिएको छ । यस्तै सबैभन्दा बढी डुबानको समस्या रहेको वडा नम्बर २ मा पनि विशेष ध्यान दिन आग्रह गरिएको छ ।
वडा अध्यक्ष कर्णसिंह बुढाक्षेत्रीले आफ्नो वडा चुरेपहाडसँग जोडिएकोले किरणनाला सबैभन्दा जोखिमयुक्त रहेको बताए । यस्तै शक्तिनगर, मुक्तिनगर, बर्दवा लगायतका बस्तीमा समेत समयमै व्यवस्थापनमा ध्यान नदिए ठूलो क्षति हुन सक्ने उनको भनाइ थियो । त्यसको लागि तत्काल आवश्यक सामग्री व्यस्थापनका साथै दीर्घकालीन समस्या समाधानको लागि आग्रह गरिएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर १ देखि १५ सम्म डुबान र कटानको उच्च जोखिममा रहेका छन् । केही वर्ष पहिले कोहलपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले विपद् प्रतिकार्य योजना बनाइएको थियो । तर उक्त प्रतिकार्य योजना कार्यान्वयनमा नल्याइएको गुनासो बैठकमा सहभागी रेडक्रसका प्रतिनिधिले गरेका थिए । उनले कोहलपुरमा विपद्को व्यवस्थापनका लागि प्रतिकार्य योजना अनुसार अघि बढ्न र यस्ता योजना आगामी बजेटमा समेटन् आग्रह गरेका थिए ।
‘विपद्मा एकजुट भएर अघि बढौँ’
प्राकृतिक प्रकोपबाट हुने क्षति कम गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेकोमा जोड दिइएको छ । सधै भविश्यमा हुन सक्ने विपद्को पूर्वतयारी अवस्थामा रहने र विपद् भइहालेमा भएको क्षतिबाट प्रभावितहरुको उद्धार तथा खोज, अनुसन्धान आवश्यक रहेकोमा जोड दिइएको हो ।
उक्त अवसरमा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले सम्पूर्ण क्षेत्रको सहकार्य र समन्वय आवश्यक रहेको बताएका थिए । उनका अनुसार विपद् व्यवस्थापनको लागि नगरपालिकाका सम्पूर्ण स्रोत साधनको अधिकतम प्रयोग र उपभोग हुन जरुरी
छ ।
‘ यस्तो बेलामा हामी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ । जनतालाई सरकार भएको महशुस गराउनुपर्छ । सबैको सहयोग आवश्यक छ ।’ उक्त अवसरमा अध्यक्ष पौडेलले भने ।कोहलपुर नगरपालिकाकी उप–प्रमुख सन्जकुमारी चौधरीले कोहलपुर नगरपालिका अब समग्रमा विपद् व्यवस्थापनमा सक्रिय हुनुपर्ने बताइन् । उनका अनुसार सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र सरोकारवाला विपद् जोखिम कम गर्नको लागि सक्रिय हुनुपर्छ ।
उनी भन्छिन्, ‘कोहलपुरमा डुबान र कटान समस्याका रुपमा रहेको छ । वर्षेनीले धनजनको क्षति हुने गरेको छ । तत्काल क्षति कम गर्न लाग्नुपर्छ । र यसको दीर्घकालीन समस्याको खाँचो योजना बनाएर जाऔँ ।’ उनले वडा अध्यक्षहरुलाई ढल निकास, र बाढी व्यवस्थापनका लागि सधै साथमा रहेको बताएकी थिइन् । त्यसअघि वडा अध्यक्षहरुले मेयर र कर्मचारीका कारण काम हुन नसकेको गुनासो गरेका थिए ।
बैठक समापनको क्रममा बोल्दै कोहलपुर नगरपालिका प्रमुख तथा स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक लुटबहादुर रावतले सबैलाई विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएका थिए । उनले सम्पूर्ण वडाका नागरिकको जिउधनको सुरक्षाका लागि सधै तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।
विपद्को पूर्वतयारीमा रहन तथा विपद् भइहालेमा गर्नु पर्ने सहयोगको लागि नगरपालिका जनताको साथमा रहेको उनको भनाइ थियो । यस्तै विपद्मा परेकाहरुको अस्थायी बास व्यवस्थापन, खानपिनको लागि पनि कुनै पनि कसर बाँकी नराख्ने सम्बन्धित पक्षलाई हाई अलर्ट रहन निर्देशन दिएका हुन् । उक्त अवसरमा सुरक्षा निकायको समेत सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्