बर्दिया ।
दुर्घटना गराएर भागेका मोटरसाइकल चालकलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । बाँसगढी नगरपालिका–९ माछागढमा पैदल यात्रुलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
जेठ २४ गते भे.३ प १२५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रेमी थारुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बाँसगढी नगरपालिका–८ बेलौरी घर भएका प्रेमीलाई ठक्कर दिने बाँसगढी ककौरा घर भएका ३६ वर्षीय रामभरोसे थारुलाई मोटरसाइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीले जानकारी दिए । घाइतेको उपचारका क्रममा जेठ २६ मा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न आरोपीलाई इलाका प्रहरी कार्यालय मोतीपुर, बाँसगढीका ईन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । रामभरोसेमाथि सवारी ज्यान सम्बन्धी कसुरमा म्याद लिएर ईलाका प्रहरी कार्यालय बाँसगढीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्