नौं थपिदाँ, १४ डिस्चार्ज, पछिल्लो २४ घण्टामा एकको मृत्यु



नेपालगञ्ज ।

पछिल्लो २४ घण्टामा सोमवार बाँकेमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ मा संक्रमण देखिएको हो । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका अनुसार ४ महिला र ५ पुरुष गरेर ९ जनाका संक्रमण पुष्टि भएको थियो ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा ३ महिला र २ पुरुष गरी ५, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा एक महिला र २ पुरुष गरी ३ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा एक पुरुषमा कोरोना पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ५३ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार कुल संक्रमितमध्ये ७ हजार ३ सय ८३ महिला र ९ हजार ९ सय ७० पुरुष रहेका छन् ।

सोमवार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका १८ महिला र २१ पुरुष गरेर ३९ जनामा कोरोना देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । पछिल्लो २४ घण्टामा नयाँ ९ संक्रमित थपिदाँ जिल्लामा १४५ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । ८ महिला र ६ पुरुष गरेर थप १४ जना कोरोना जितेर सोमवार डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा अहिलेसम्म कोरोना जित्नेहरुको संख्या १६ हजार ८ सय ७६ पुगेको उनले बताए । कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार १ सय ८५ महिला र ९ हजार ६ सय ९१ पुरुष रहेका छन् । पछिल्लो घण्टामा बाँकेका अस्पतालमा उपचाररत एक जना मात्र संक्रमितको मृत्यु भएको थियो । जिल्लाका अस्पतालहरुमा कोरोनाको दोस्रो लहर सुरु भएयताको यो नै मृत्यु हुने संख्या कम रहेको छ ।

पछिल्लो २४ घण्टामा बाँके भित्रका संक्रमितको मृत्यु भएपनि बाहिरी जिल्लाका संक्रमितको भने मृत्यु नभएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए । योसँगै जिल्लाभित्रका १ सय २९ महिला र १ सय ७९ पुरुष गरेर ३ सय ८ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी बाहिरी जिल्लाबाट उपचारका लागि आएका १ सय ४ महिला र २ सय ३४ पुरुष गरेर ३ सय ३८ जनाको उपचारकै क्रममा ज्यान गएको थियो । सोमवारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या २ सय ७४ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । तीमध्ये जिल्लाभित्रका १ सय ६९ जना र बाहिरी जिल्लाका ८२ जना रहेका थिए ।

होम आइसोलेसनमा ७९ महिला र ७६ पुरुष गरेर १ सय ५५ जना रहेका छन् । अस्पताल तथा आइसोलेसन सेन्टरमा भने ३४ महिला र ६२ पुरुष गरेर ९६ जना रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांका उल्लेख रहेको छ ।

प्रकाशित मिति : २०७८ असार १ गते मंगलबार