कोरोनाका कारण सिंगो देश प्रभावित भइरहेको छ । विगत एक वर्षयता देशभर लगभर सबै क्षेत्र ठप्प जस्तै छन् । कोरोनाका कारण शैक्षिक, स्वास्थ्य, आर्थिक, पर्यटन र सिंगो जनजीवन नै प्रभावित भएको छ । कोरोनाको पहिलो र दोस्रो चरणको बेलामा नेपालले निकै ठूलो क्षति व्यवहोरीसकेको छ । अझै पनि तेस्रो चरणको कोरोनाका कारण लामो समय यहाँको जनजीवन प्रभावित हुने देखिएको छ । सरकारले पनि तेस्रो चरणको कोरोना महामारीको पूर्वतयारीमा जुट्न निर्देशन दिइसकेको छ । तेस्रो चरणमा सबै भन्दा बढी बालबालिकाहरुलाई कोरोनाले प्रभाव पार्न सक्ने पनि बताइएको छ । अहिले स्थानीय सरकारहरु पनि सोही अनुसार पूर्वतयारीमा जुटिरहेका छन् । कोरोनाले सबै भन्दा धेरै प्रभाव पारेको क्षेत्र मध्ये शिक्षा क्षेत्र पनि एक हो । चालू शैक्षिक सत्र लगभग पूर्ण रुपमा बन्द अवस्थामा रहयो । जसका कारण लाखौँ विद्यार्थीहरुले पढ्न पाएनन् ।लकडाउनको समयमा शुरु गरिएका अनलाइन कक्षाहरु त्यत्ति प्रभावकारी देखिएका छैनन् । अब नयाँ शैक्षिक सत्र शुरु हुदैछ । नयाँ शत्रमा समेत भौतिक रुपमा उपस्थित भएर पठनपाठन हुने सम्भावना न्यून देखिन्छ । त्यसैले सरकारले बैकल्पिक माध्यमबाट भएपनि पठनपाठन शुरु गर्ने बताइरहेको छ । स्थानीय सरकारले समेत यसमा जुटेको देखिन्छ । लामो समय कोरोनाले पारेको प्रभाव, विद्यालयले गरिरहेको तयारी लगायतका विषयमा कोहलपुर १० स्थित त्रिभूवन माविका प्रधानाध्यापक देवका थापासँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश:
१. कोरोना महामारीको समय छ,दैनिकी कसरी बितिरहेको छ यहाँको दैनिकी ?
कोरोना महामारीको अवस्थामा हामी छौँ ।अहिले पनि संसारले दोस्रो चरणको कोरोना भाइरसको सामना गरिरहेको छ । हामीले पहिलो चरणको कोरोना संक्रमण पनि भोग्यौँ । दोस्रो चरणको कोरोना संक्रमण पनि हामीले भोगिरहेका छौँ । अझै तेस्रो चरणको कोरोना भाइरसको समेत कुरा आइरहेको छ । लामो समय भयो विद्यालय बन्द अवस्थामा छन् । तर पनि हामीले लकडाउनको समयमा अनलाइन मार्फत कक्षाहरु सञ्चालन गरेका थियौँ । कक्षा ९ देखि माथिका कक्षामा अनलाइन कक्षा सञ्चालन गरेको हो । यस्तै कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरेर हामीले कक्षा सञ्चालन गरेको हो । यस्तै परिक्षाफल प्रकाशनको तयारी समेत भइरहेको छ ।पहिलो चरणको परिक्षा भएको थियो । सोही अनुसार हामी आन्तरिक मूल्यांकन गरेर विद्यार्थीहरुको परिक्षाफल प्रकाशित गर्दैछौँ । कक्षा १० को हकमा कार्यविधि अनुसार काम गर्ने निर्देशन छ । सोही अनुसार काम हुन्छ ।
२. कोरोना महामारीले समग्रमा शैक्षिक क्षेत्रमा कत्तिको असर गरेको छ ?
कोरोना महामारीबाट प्रभावित नभएको क्षेत्र नै छैन । सिंगो देश कोरोनाका कारण प्रभावित बन्यो । कति धेरैले ज्यान गुमाएका छन् । कति जना अहिले पनि मृत्यु सँग लडिरहनु भएको छ ।कतिले कोरोना जितेर पुर्नजीवन पाउनु भएको अवस्था छ । अहिले पनि कोरोना महामारी जिवित रहेकोले अझै क्षति पुग्ने देखिन्छ । त्यसैले हामी सम्पूर्ण मिलेर यसको सामना पनि गरिरहेका छौ । तपार्इंले भन्नु भएजस्तै समग्र क्षेत्र जस्तै शिक्षा क्षेत्रमा पनि यसले निकै ठूलो प्रभाव पारेको छ । दुई वटा शैक्षिक सत्र पूर्ण रुपमा प्रभावित भए । अब आउने शैक्षिक सत्रमा पनि प्रभावित हुन सक्ने सम्भावना रहेको छ । यसमा हाम्रो विद्यालय, विद्यार्थी र शिक्षक पनि निकै प्रभावित भए । हाम्रा शिक्षकहरु कोरोना संक्रमित हुनु भयो । म आफै पनि कोरोना संक्रमणको सिकार हुन पुगे । उच्च मनोबलका कोरोना त जितियो । तर हामी पनि यसबाट अछुतो हुन सकेनौँ । यसले सबै भन्दा ठूलो प्रभाव त विद्यार्थीहरुलाई गरेको छ । उनीहरु एक वर्ष भन्दा बढी भइसक्यो विद्यालय आउन पाएका छैनन् । त्यस कारण उनीहरुको भविश्यको विषयमा अझै सोचिएन भने भोली नराम्रो असर गर्ने मैले देखेको छु । समग्रमा शैक्षिक क्षेत्र निकै धरासयी बनेको छ । अघिल्लो चरणमा पनि हामीले अनलाइन कक्षा सञ्चालन गरेका थियौँ यो पटक पनि सञ्चालन गरिरहेका छौँ । सोही अनुसार आगामी दिनमा पनि जाने लक्ष्य राखेका छौँ । आगामी दिनमा कसरी अघि बढ्ने भनेर रणनीति समेत बन्दैछ । भौतिक दुरी कायम गरेर विद्यालय सञ्चालन गर्न सकिने अवस्था छैन । त्यसैले बैकल्पिक उपायको खोजी हुन्छ । सोही अनुसार नै अघि बढ्छौँ हामी ।
३. नयाँ शैक्षिक शुरु हुन लाग्यो, अब पनि अनलाइनबाट मात्रै पढाइ हुन्छ की अन्य विकल्प अपनाइन्छ ?
नयाँ शैक्षिक सत्र आइसकेको छ । अब के गर्ने भन्ने कुरा अहिले पनि अनिश्चित छ । कोरोनाको महामारी बढिरहेको छ । कोरोना कहर बाँकी रहे, भौतिक रुपमा विद्यार्थीलाई उपस्थित गराएर पढाउन अवस्था तत्काल देखिदैन । किन भने जिल्लामा अहिले पनि कोरोनाको संक्रमण दर कायमै रहेको छ । निषेधाज्ञा पनि जारी रहेको अवस्थामा त्यो कुरा सम्भव छैन । अब सम्भव भनेको बैकल्पिक उपाय अपनाउने नै हो । त्यो भनेको अनलाइनबाट पठनपाठन नै हो । अर्को कुरा भनेको टोलटोलमा शिक्षक खटाएर पठनपाठन गर्ने हो । त्यो विकल्पको विषयमा हामी विव्यस ,शिक्षक र अभिभावकहरुसँग पनि छलफल गर्दैछौँ ।सो छलफलबाट निर्णय भएर आएपछि थप विकल्प अपनाउने विषयमा हामी केन्द्रीत भएका छौँ । अब कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुलाई घर टोल मै गएर पढाइन्छ । सातदेखि माथिका विद्यार्थीहरुको हकमा भने अनलाइनका माध्यमबाट पढाइ गर्ने सोच रहेको छ । त्यसो भयो भने विद्यार्थीहरुको बानी बिग्रदैन । होइन भने विद्यार्थीहरु माथि निकै ठूलो नकारात्मक प्रभाव देखिन्छ । यसको समाधानमा हामीले ध्यान दिनुपर्छ । नगरपालिकाले पनि बैकल्पिक माध्यमलाई नै अंगाल्ने भन्ने सुनेको छु । शाखाले पनि हामीलाई जानकारी गराउला । उताबाट के निर्देशन आउँछ । सोही अनुसार काम हुन्छ ।
४. आन्तरिक मूल्यांकनबाट परिक्षाफल प्रकाशन गर्ने भनिएको छ, यको खास विधि र प्रत्रिया चाही के हुन्छ ?
लामो समय पढाइ नभएकोले सरकारले यस्तो विधिको अवलम्बन गरेको हो । यसले समग्रतालाई समेट्छ जस्तो छ । जहाँसम्म स्तर कसरी निर्धारण गर्ने भन्ने कुरा छ । कक्षा कोठामा हरेक शिक्षकले आफ्नो विद्यार्थीको हरेक कुराको जज गरिरहेको हुन्छ । त्यहाँबाट नम्बर निर्धारण गर्छ । अर्को कुरा विद्यार्थीले परिक्षामा कुन विषयमा कस्तो नम्बर ल्याएको छ भन्ने कुरालाई पनि आधार बनाउन सकिन्छ । हाम्रो त विद्यार्थीहरुले पहिलो चरणमा परिक्षा दिएका थिए । सोही अनुसार पनि निर्धारण गरिने हो । यस्तै विद्यार्थीको अनुशासन, गृहकार्य, हाजिरीलाई पनि मापदण्डका रुपमा राखिन्छ । नम्बर दिने विषयमा समिति नै बनाइएको छ । समितिले सिफारिस गर्छ । शिक्षा शाखाले अपु्रभ गरेपछि परिक्षाफल प्रकाशित हुन्छ । कार्यविधि अनुसार नै हुने हो । यो परिक्षाफल प्रकाशन नर्मलाइज गरेर गर्ने हो ।
५. यस्तो अवस्थामा अभिभावकहरुले आफ्ना छोराछोरीहरुलाई कसरी घर स्वअध्ययन गराउन सक्छन्, के भन्नुहुन्छ ?
तपाईंले राम्रो प्रश्न गर्नु भयो । कोरोनाका कारण विद्यालय बन्द छन् । विद्यार्थीहरु फूल समय घर मै हुन्छन् । घरमा बस्दा उनीहरु अन्य काममा बढी केन्द्रीत हुने गरेको देखिएको छ ।त्यसैले अभिभावकहरुले उनीहरुको हेरचाह गर्नुपर्ने अवस्था छ । शिक्षकले घर घर गएर पढाउन सम्भव छैन । हामीले विद्यार्थीहरुको अवस्थालाई मध्यनजर गरेर अनलाइन कक्षा लिइरहेका छौँ । त्यसैले थोरै मात्रामा भएपनि विद्यार्थीहरुलाई पढाइमा केन्द्रीत गरेको छ । अभिभावकहरुले उनीहरुको लागि समय छुट्याएर भएपनि स्व अध्ययन गराउन निकै आवश्यक देखिन्छ । यसले गर्दा विद्यार्थीहरुलाई पढाइमा केन्द्रीत गराउन सहज हुन्छ । उनीहरुको बानी पनि विग्रदैन ।घरमा अभिभावकको धेरै ठूलो भूमिका हुने भएकोले म सम्पूर्ण अभिभावकहरुलाई आफ्ना छोराछोरीको भविश्य उज्वल बनाउनको लागि कम्तिमा उनीहरुलाई समय दिनुहोस । उनीहरुका गतिविधि नियाल्नुहोस । होइन भने भोली विद्यार्थीहरु नराम्रो काममा लाग्न सक्छन् ।त्यसैले सम्पूर्णलाई मेरो अनुरोध छ ।आफ्ना छोराछोरीहरुलाई स्वअध्ययनमा केन्द्रीत गराउनुहोस ।अर्कातिर हामीले स्थानीय सरकारलाई शिक्षा क्षेत्रलाई प्राथमिकता दिन आग्रह गरेका छौँ । एक विद्यालय एक स्वास्थ्यकर्मी हाम्रो माग हो ।
६. अन्त्यमा, शैक्षिक क्षेत्रको विकासका लागि महामारीको समयमा कसरी अघि बढ्नु पर्ला के भन्न चाहनुहुन्छ ?
हामी वीचमा अभिभावक, शिक्षक र विद्यार्थीसँग सहकार्य कायम हुनुपर्छ ।अभिभावकले बच्चाबच्ची प्रति हाम्रो जिम्मेवारी बहन गर्नुपर्छ ।उनलाई चाहिएको कुरा उपलब्ध गराइदिनु पर्यो ।जस्तै अनलाइनको लागि नेट र मोबाइलको व्यवस्था गरिदिने । उसले कसरी पढेको छ । त्यो पनि हेर्नु पर्छ । शिक्षक र अभिभावक बीच पनि हामीले समन्वयको वातावरण बनाउनु पर्छ । अन्त्यमा सम्पूर्णलाई कोरोनाबाट बच्नको लागि आग्रह गर्न चाहन्छु ।









प्रतिक्रिया दिनुहोस्