9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

मेसिन पड्किँदा एकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

कोहलपुर ।

बाँकेमा रहेको एक प्लाइउड उद्योगमा बोइलर मेसिन पड्किँदा एक मजदुरको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर, १४ मा रहेको गणपति डोर एण्ड प्लाइ बोर्ड इन्डस्ट्रिज प्रालिमा बोइलर मेसिन पड्किँदा एक मजदुरको मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले उद्योगमा रहेको स्टीम बोइलर मेसिन पड्किँदा एक जनाको मृत्यु भएको जानकारी दिए । ‘आइतबार बिहान करिब ५ बजेर ५ मिनेटमा उक्त घटना भएको देखिन्छ’ उनले भने, ‘मेसिन पड्किँदा उद्योगमा कार्यरत मजदुरको तत्कालै मृत्यु भएको थियो ।’

मृत्यु हुने मजदुरमा बर्दिया बारबर्दिया नगरपालिका वडा नम्बर ९ का खुशीराम थारु रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै पुगेको प्रहरी टोलीले थारुको शवंलाई पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्जमा पठाएको थियो ।

पोस्टमार्टम पश्चात शवलाई आइतबार नै मृतकका आफन्तहरुले बुझिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । केही दिनअघि मात्र बाँके नेपालगञ्जमा रहेको एक उद्योगमा पेन्ट गर्ने क्रममा त्यहाँ पनि एक मेसिन पड्किँदा एक मजदुरको मृत्यु भएको थियो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     7:07:52 AM  |