20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘स्वास्थ्य, शिक्षा र कृषि क्षेत्र केन्द्रीत नीति र बजेट ल्याउनेछौँ ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८  

नयाँ आर्थिक वर्ष शुरु हुदैछ । संघीय सरकारले बजेट ल्याइसकेको छ । प्रदेश सरकारहरु अहिले नीति तथा कार्यक्रम ल्याइरहेका छन् । केही प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । केही प्रदेश पनि नीति तथा कार्यक्रम ल्याउने तयारीमा छन् । संविधान अनुसार नै संघ र प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएका हुन् । असार एक गते सात वटै प्रदेशले एकैदिन आर्थिक वर्ष २०७८÷०७९ को बजेट प्रस्तुत गर्नेछन् । यस्तै स्थानीय सरकारले समेत असार दोस्रो साताभित्र नीति तथा कार्यक्रम ल्याउनु पर्ने प्रावधान रहेको छ । अहिले कोरोना महामारीको नियन्त्रणमा सक्रिय रहेका स्थानीय सरकार नीति तथा कार्यक्रम र बजेटको पूर्वतयारीमा सक्रिय छन् । संघ र प्रदेशले नीति तथा कार्यक्रमलाई स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएका छन् । यस्तै स्थानीय सरकारले पनि स्वास्थ्यलाई प्राथमिकता दिने बताइरहेका छन् । बाँकेका आठ पालिका मध्ये कोहलपुर नगरपालिका पनि एक हो । जिल्लाको एक मात्र नगरपालिकाको रुपमा रहेको कोहलपुरले पनि बजेटको तयारी गरिरहेको छ । कोहलपुर नगरपालिकाले गरिरहेको नीति तथा कार्यक्रम र बजेटको तयारी, प्राथमिकता र कार्यान्वयन लगायतका विषयमा कोहलपुर नगरपालिकाका आर्थिक समितिका संयोजक डिलबहादुर परियारसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१. कोरोनाको महामारी छ, दैनिकी कसरी बितिरहेको छ ?

पक्कै पनि हामी कोेरोना महामारीको सामना गरिरहेका छौँ । सोही अनुसार नगरपालिकाले संक्रमण रोकथामको प्रयास समेत गरिरहेको अवस्था छ । हामी नगरपालिकामा उच्च सतर्कताका साथ काम गरिरहेका छौँ । नीति तथा कार्यक्रम र बजेट माथि पनि छलफल भइरहेको अवस्था छ । आगामी वर्षको बजेट तर्जुमाको शिलशिलामा हामी रहेका छौँ । त्यसपछि कोभिडबाट प्रभावित नगरबासीहरुको उपचार, खोज, उद्धार तथा व्यवस्थापनका लागि पनि आवश्यक समन्वय र सहकार्य भइरहेको छ ।

२. कोहलपुर नगरपालिकामा कोरोना भाइरस संक्रमणको अवस्था कस्तो छ जानकारी गराइदिनुन ?

कोहलपुर नगरपालिकामा शुरुवाती चरणमा कोरोना संक्रमण निकै उकालो लागेको थियो । बाँके जिल्ला प्रभावित भएको बेला हामी नेपालगन्ज पछि दोस्रो स्थानमा थियौ । हाम्रो एक महिनाको अथक प्रयासबाट कोरोनाबाट प्रभावित नागरिकहरुको संख्या कम भएको छ । कोहलपुर नगरपालिकाले एउटा आइसोलेसन सेन्टर सञ्चालन गरेको थियो । अहिले स्थगन भइसकेको अवस्था छ ।
२५ बेडको कोभिड अस्पताल सञ्चालित अवस्थामा रहेको जानकारी गराउन चाहन्छु । त्यहाँ रहेको बिरामी स्वास्थ्य लाभ गरिसकेका छन् । अहिले त्यहाँ पनि बिरामीहरु छैनन् । कोरोनाबाट संक्रमित हुने होम आइसोलेसनमा रहेका नगरबासीहरुले पनि क्रमिक रुपमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

३. नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि कस्तो गृहकार्य भइरहेको छ नी ?

कोरोनाको महामारी छ । हाम्रो पहिलो प्राथमिकता नै स्वास्थ्य क्षेत्र हो । हामी सोही अनुसार नीति तथा कार्यक्रमलाई निरन्तरता दिदैछौँ । यसको रोकथाम तथा नियन्त्रण नै हाम्रो मुख्य दायित्य र कर्तव्यका रुपमा रहेको छ । खोपको व्यवस्थापनको लागि समेत हामीले नीति तथा कार्यक्रम मै व्यवस्था गर्ने तयारी गरेका छौँ । यस्तै प्रदेश र केन्द्र सरकारसँग यसका लागि आवश्यक सहजीकरण हुनेछ । खोप व्यवस्थापन कार्य अन्तर्गत ढुवानी, भण्डार र सम्बन्धित वडासम्म पु¥याउनको लागि प्रभावकारी बनाउने अनिवार्य खोप कार्यक्रम सञ्चालन गर्ने हाम्रो उद्देश्य रहेको छ । तेस्रो लहरको कोरोना महामारी नियन्त्रणको लागि समेत नगरपालिकाले पूर्व तयारी थालिनेछ । कोभिड अस्पताल सञ्चालन, क्षमता विकास, जनशक्ति परिचालन, संस्थागत आइसोलेसन स्थापना, स्वास्थ्य सुरक्षा सामग्रीको खरिद् र व्यवस्थापन लगायत कोभिडबाट प्रभावित हुने नागरिकको मृत्यु भएमा नगरपालिका आफैले शव व्यवस्थापन गर्ने कुरामा हामी तयार रहने छौँ । दैनिक रुपमा समस्यामा परेकाहरुका नागरिकलाई राहत तथा पुनःस्थापनाको काम नगरपालिकाले अनिवार्य रुपमा गर्नेछ ।

दोस्रोमा शिक्षालाई लिएका छौँ । यसैगरी छलफल र बहश भइरहेको छ । खास गरेर गत आर्थिक वर्षदेखि नै विद्यालयमा भौतिक रुपमा उपस्थित पठनपाठनको समस्या देखिएको छ । जसका कारण हजारौँ विद्यार्थी समस्यामा परेका छन् । शिक्षा आर्जन गर्नबाट बञ्चित भएकाहरुलाई बैकल्पिक माध्यमबाट कसरी सिकाइ सहजीकरण गर्न सकिन्छ भन्ने बारेमा पनि व्यापक छलफल भएको छ । यस्तै हामीले कृषिलाई पनि प्राथमिकतामा राखेका छौँ । विदेशबाट फर्किएकाहरुलाई स्वरोजगारमुलक बनाउने हाम्रो उद्देश्य छ । सोही अनुसार नीति तथा कार्यक्रम र बजेटमा समेत समेटिनेछ । पोलिसो खाद्य पदार्थहरु उत्पादनमा जोड दिइनेछ । तरकारी, माछा, मासु, दुध लगायत उत्पादनमा जोड रहनेछ । त्यसले पछि कोहलपुर नगरपालिकाले ठूला गौरवका आयोजना सञ्चालन गरेको छ । खासगरी बसपार्क निर्माण, भ्यूटावर निर्माण, फोहोर मैला प्रशोसन केन्द्र, कवर्ड हल निर्माण लगायतका ठूला गौरवका योजनाहरु छन् । ती योजनाहरु चालू आवमा सम्पन्न हुने चरणमा रहेका छन् । ती आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोेजन गर्ने लक्ष्य राखिएको छ । अन्य सामाजिक समावेशीकरण, लक्षित वर्गको आर्यआर्जन लगायतलाई प्राथमिकतामा राखेका छौँ ।

यस्तै भूमिहीन सुकुम्बासी र दलित समुदाय रहेको छ, कोहलपुरमा । त्यसको पनि समय मै नापनक्सा, लगत संकलन सम्पन्न भइसकेको छ । यसै आर्थिक वर्षमा उनीहरुलाई लालपूर्जा वितरण गरिनेछ ।गन्धर्व समुदायको लागि कोहलपुर नगरपालिकाले एकिकृत सामुहिक आवास कार्यक्रम सञ्चालन गरिरहेको छ । कोहलपुर नगरपालिकाको ११ लोकनगरमा १८ घरधुरीलाई पुनःस्थापित गरिसकेको अवस्था छ । उनीहरुको दीर्घकालीन व्यवसायका लागि हामीले योजना बनाएरै अघि बढ्ने योजनामा छौँ । यस वर्ष गन्धर्व तथा वादी समुदायका आर्यआर्जनका लागि नेपाल सरकारको विशेष अनुदानमा १ करोड ६६ लाख रुपैयाँमा दीर्घकालीन रुपमा अवसर प्राप्त गर्नेछन् । युवाहरुलाई स्वरोजगारसँग जोड्नको लागि हामीले प्रयास गरिरहेका छौँ ।

४. कोहलपुरलाई मेघा सिटी बनाउनको लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ, नगरपालिकाले पनि यसको लागि नीति तथा कार्यक्रम र बजेटमा समेट्छ ?

संघीय सरकारले नेपालगन्ज र कोहलपुरलाई मिलाएर मेघा सिटी बनाउने र सम्भाव्यता अध्ययनको लागि बजेटमा समेटेको अवस्था छ । कोहलपुर नगरबासी र कोहलपुर नगरपालिकाको तर्फबाट हामी के भन्न चाहन्छौँ भने अहिले मौजुदाँ रुपमा रहेका नेपालगन्ज र कोहलपुरमा धेरै कुरामा भिन्नता रहेको छ । कोहलपुर अझै पनि नगरपालिकाको रुपमा रहन सकेको अवस्था छैन । नेपालगन्जको सन्दर्भमा समेत त्यस्तै
छ । अझै अन्य पालिका मिसाएर महामानगर बनाउँदा यसले संघीयताको भावनालाई ठेस पु¥याउँछ । कोहलपुर नगर क्षेत्रबाट नेपालगन्ज जानका लागि दुरी निकै टाढा छ । अर्कोे कुरा भाषिक, सांस्कृतिक र भौगोलिक सबै हिसाबले नेपालगन्ज र कोहलपुरमा भिन्नता रहेको छ । कोहलपुरलाई नेपालगन्जसँग गाँभेर मेघा सिटी बनाउन सकिदैन । त्यो सम्भव पनि छैन । मैले त्यो उपयुक्त देखेको छैन । त्यसो भएको हुनाले कोहलपुर नगरपालिकाले यो आर्थिक वर्षमा कोहलपुरलाई उप महनगरपालिकाका बनाउनका लागि आवश्यक सम्भाव्यता अध्ययनका कामहरुलाई अघि बढाउने कुरा हाम्रो प्राथमिकता रहेका छन् । यहाँको समग्र विकास र आर्थिक उत्थान र पहिचानलाई अछुर्ण राख्नको लागि कोहलपुर नगर सरकारको तर्फबाट कार्यक्रम, नीति र बजेट ल्याइनेछ ।

५. यस वर्ष बजेटको आकार चाही कस्तो हुन्छ ?

कोहलपुर नगरपालिकाको संघीय र प्रदेश सरकारबाट प्राप्त हुने ऋण, नगर विकाससँगको ऋण साझेदारी लगायत आन्तरिक आर्यस्रोतको प्रक्ष्येपण गर्दा झण्डै एक अरब २० करोड जतिको बजेट आउनेछ । हाम्रो मोटामोटी अनुमान रहेको छ ।

६. यसवर्ष नीति तथा कार्यक्रम र बजेट पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि कस्तो मोडालिटि तयार गर्नु भएको छ ?

बास्तवमा स्थानीय सरकार र स्थानीय तहको रुपमा नेपालको सन्दर्भमा भन्नुहुन्छ भने यो नौलो अभ्यास हो । हिजो स्थानीय निकाय थिए । जिविस वा सरकारको सानो युनिटका रुपमा रहन्थे । अहिले सरकारको हैसियतमा स्थानीय तहले काम गर्छन् । यो पहिलो पटक भएकोले चूनौती र बाधाहरु थुप्रै छन् । नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको सवालमा कुरामा नेपाल सरकारबाट खटाइने प्रमुख प्रशासकीय अधिकृतको सरुवा र फेरबदलले ठूलो असर गरेको पाइएको छ । त्यो समस्या समाधानको लागि यो वर्ष हामीले भदौमा योजना सम्झौताका साथै वार्षिक कार्ययोजना अनुसार काम गर्ने, सोही अनुसार सबैलाई जिम्मेवार बनाउने र प्रत्येक चौमासिकमा प्रगति समिक्षा गर्ने रणनीति हामीले अबलम्बन गर्छौँ । जसका कारणले हामीले बजेट समयमा खर्च गर्न सकौँ र जनताले राम्रो सेवा पाउन । अर्को कुरा मूल्यांकन अनुगमनको पाटोलाई पनि एकदमै प्रभावकारी बनाउन जरुरी देखिन्छ । यसको जिम्मेवार पद उप प्रमुख हो । उहाँहरुले योजना कार्यान्वयन भए नभएको बारेमा निकै चासो दिने र फिल्ड स्तरमा काम गर्नुपर्छ जस्तो लाग्छ मलाई । योजना गुणस्तरीयतामा पनि ध्यान दिनुपर्छ ।

७. अन्त्यमा यस वर्षको नीति तथा कार्यक्रम र बजेट जनतामुखी हुनेमा नगरबासीहरुलाई कसरी आस्वस्त पार्नहुन्छ नी ?

मैले सम्पूर्ण नगरबासीलाई के कुरा बिनम्र अनुरोध गर्न चाहन्छु भने, अहिले हामी कोभिडको दोस्रो लहरबाट आक्रान्त भएका छौँ । संक्रमण दर केही घटेको देखिएपनि जोखिम कायमै छ । आफना्े क्षेत्रबाट न्युनिकरणमा सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु । न्युनतम स्वास्थ्यका मापदण्ड पुरा गरिदिनुभयो भने हाम्रो लागि ठूलो सहयोग हुनेछ ।र अर्को कुरा यो आर्थिक वर्षमा कोहलपुर नगरपालिकालाई समृद्ध नगरपालिका बनाउनको लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनेछ । यहाँका सम्पूर्ण पक्ष समेटिनेछन् भन्न चाहन्छु ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ३१, २०७८     6:50:47 AM  |