29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

दहपानीका महिला व्यावसायिक कृषि पेशामा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८  

बलेवा,  जेठ (रासस) : दश वर्ष पहिला तालीम पाएका बागलुङको दहपानीका महिलाले घरघरमा व्यावसायिक कृषि पेशा थालेका छन् । तालीम ताका एक÷दुई जना मात्रै व्यवसायमा लागेका थिए । पछिल्लो समयमा भने धेरै महिला व्यावसायिक बन्दै गएका हुन् । उनीहरूले मौसमी र बेमौसमी तरकारी खेती, घरघरमा सिलाइबुनाइ र बुटिकजस्ता काम पनि गरेका छन् ।

काठेखोला गाउँपालिका–५ मा पर्ने दहपानीका सबै महिला सङ्गठित छन् । केहीले धागोबाट झोला बुन्ने काम पनि गरिरहेका छन् । दहपानी आत्मनिर्भर समूहमा आबद्ध भएका महिलामध्ये अहिले ११ जना घरमै उद्यमी भएका छन् भने अन्य २० जनाले तरकारी उतपादन गरिरहेको अध्यक्ष ज्ञानकुमारी श्रीषले बताउनुभयो ।

यहाँका महिलाले बुनेका सामग्री बागलुङ बजारस्थित कोसेली घरमा पठाएर बिक्री कक्षको रूपमा समेत सञ्चालित छ । घोडाबाँधेस्थित नेपाली सेनाको व्यारेक भएकाले कृषि फसल सबैभन्दा धेरै बिक्री हुने गरेको हो । यहाँ झण्डै ७०० सैनिक कार्यरत छन् । उनीहरूले दैनिक खाने अन्न र तरकारी स्थानीय रुपमै खरीद गरिरहेका छन् ।

मध्यपहाडी लोकमार्गको छेउछाउमा रहेका दर्जन बढी होटल तथा रेष्टुरेन्टमा पनि उनीहरूको उत्पादन बिक्री भैरहेको छ । निशेधाज्ञाले सवारी साधन नचलेकाले एक महिनादेखि भने तरकारी बिक्री घटेको स्थानीय ओमदेवी पुनले बताउनुभयो । तरपनि सडक निर्माण भैरहेकाले मजदूर तथा ठेकेदारका मानिसले पनि नियमित तरकारी खरीद गर्दा व्यवसायमा सहजीकरण भएको उहाँको भनाइ छ ।

यहाँका किसानले ब्रोइलर र स्थानीय कुखुरा पनि पालेका छन् । ब्यारेकमा नियमित कुखुरा बिक्री हुने भएपछि कतिपयले व्यावसायिक उत्पादनमा जोड दिएको बताउनुभयो । ‘‘काम गरेमा बिक्री नहुने भन्ने छैन’’ स्थानीय सीता कंडेलले भन्नुभयो, ‘‘मेहेनत अनुसारको फल पाउन सदरमुकाम धाउनु परेको छैन ।” उहाँसहित धनकुमारी परियार समेत बुटिकको प्रशिक्षक बनेर विभिन्न स्थानमा तालीम दिन जानुभएको छ ।

बिहुँका पुरुषभन्दा महिला बढी सक्रिय रहेको श्रीष बताउनुहुन्छ । ‘‘कतिपय पुरुषहरू रोजगारीका लागि विदेशमा छन्, कतिपय बजारमा बस्छन्, तर घरमा बसेका महिलाहरू मिहेनती बनेर आत्मनिर्भर भएका हुन्’’, उहाँले भन्नुभयो, ‘‘मिहेनत गर्नेलाई गाउँपालिकाले अनुदान र सीप हस्तान्तरण गरिदिएमा उत्पादन अझै बढ्ने थियो ।’’ वडा तहबाट सम्बोधन भएपनि गाउँपालिकाबाट चासो नभएको उहाँले बताउनुभयो ।

यहाँ धान उत्पादन हुँदैन । समुन्द्र सतहबाट झण्डै दुई हजार मिटरको उचाइमा रहेकाले यहाँ मकै, कोदो, फापरजस्ता अन्नबाली हुने गर्दछ । प्लास्टिकको टनेलमा लगाएमा भने काउली, बन्दासहितका बेमौषमी तरकारी मनग्ये फलाउन सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ ३०, २०७८     4:39:07 PM  |