दमौली, जेठ (रासस) : कोरोना कहर र निषेधाज्ञाका कारण रक्तदानका कार्यक्रम ठप्प छन् । यसअघि नियमितरूपमा रक्तदान हुँदै आए पनि कोरोना कहरले रक्तदानका कार्यक्रम रोकिएका छन् । नियमित रक्तदानले दमौली अस्पतालमा डायलासिसलगायतका बिरामीले सहजरूपमा रगत पाइरहेका थिए । गत वैशाख २२ गतेदेखि निषेधाज्ञा लागू भएपछि यहाँ रगतको अभाव छ । बिरामीले सहजरूपमा रगत पाउन सकेका छैनन् ।
रगतको अभाव टार्ने प्रयासस्वरुप लायन्स क्लब अफ तनहुँ र लियो क्लब अफ तनहुँले आज यहाँ रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदानमा ३० जनाले रगतदान गरेको लियो क्लब अफ तनहुँका २०२१–२२ का अध्यक्ष सुनिल मिश्रले जानकारी दिनुभयो । “निषेधाज्ञाका कारण रगतको अभाव छ, रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्नका लागि रक्तदानको आयोजना ग¥यौँ”, उहाँले भन्नुभयो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सङ्कटको घडीमा रगतको अभाव टार्ने प्रयास गरेर क्लबले उदाहरणी कार्य गरेको बताउनुभयो । “सामाजिक सङ्घसंस्थाले समाज सेवाको काम गर्नुपर्छ, आज रगतको अभाव भएका बेला दुई संस्थाले गरेको कार्यक्रमले समाजमा राम्रो सन्देश प्रवाह गर्छ”, न्यौपानेले भन्नुभयो ।
जिल्ला अस्पताल रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा लायन्स क्लब अफ नेपाल ३२५ बी–१ का पूर्वगभर्नर अशोककुमार श्रेष्ठ, दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले रगतदान पुण्यदान भएको चर्चा गर्नुभयो । रगत अभावमा दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रका मिर्गौलापीडितलाई डायलासिसका लागि समस्या हुँदै आएको छ । नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैलापीडित रगत खोज्न आफैँ हिँड्नुपर्ने अवस्था आएको छ ।
मिर्गौला केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिनुभयो । कतिपय मिर्गौलापीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् । “दमौलीमै भएका आफन्त वा साथीभाइ आएर पनि रक्तदान गरिदिनुहुन्छ, कोही नपाएको खण्डमा भने पोखरा पुगेरै रगत ल्याउनुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।
केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलोपटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करिब २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौवटा डायलासिस गराउने उपकरण छन् ।
–––










प्रतिक्रिया दिनुहोस्