बाँसगढीमा रक्तदान सम्पन्न



मधुर पौडेल । बर्दिया ।

बर्दियाको बाँसगढीमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराका साथ बाँसगढीमा रक्तदान सम्पन्न भएको हो । रुपान्तरण युवा सञ्जाल बाँसगढी बर्दियाको आयोजनामा रक्तदान कार्यक्रम गरिएको थियो ।

कोरोनाको दोस्रो लहरमा रगतको कमी नहोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको रुपान्तरण युवा सञ्जाल बाँसगढीका संयोजक सन्तोष बाँस्तोलाले जानकारी दिए । ‘कोरोना महामारीको समयमा जिल्लामा रगतको नहोस् भनेर रक्तदानको आयोजना गरेका छौं’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालना गरेर कार्यक्रमको आयोजना गरिएको थियो ।’

रक्तदान कार्यक्रमको उद्घाटन बाँसगढी नगरपालिका, ३ का अध्यक्ष प्रेमराज पौडेलले गरेका थिए । सो अवसरमा बोल्दै उनले यस्ता सामाजिक काममा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए । ‘तपाईको रगतले विरामीको ज्यान बाँच्न सक्छ’ उनले भने, ‘सकेसम्म तपाई हामी सबैले तीन÷तीन महिनामा रक्तदान गर्नुपर्छ ।’ रक्तदान कार्यक्रममा बाँसगढी युवा मञ्च, ईलाका प्रहरी कार्यालय मोतिपुर, नवजीवन सहकारी संस्था बाँसगढी , बाँसगढी उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ बाँसगढीले समन्वय र सहकार्य गरेको आयोजकले जनाएको
छ ।

प्राविधिक सहयोग नेपाल रेडक्रसले गरेको रुपान्तरण युवा सञ्जाल बाँसगढीका सचिव हनक सुनारले जानकारी दिए । सहजीकरण र ब्यवस्थापनमा बाँसगढी नगरपालिकाले साथ दिएको थियो । रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेको रुपान्तरण युवा सञ्जाल बाँसगढीका सचिव सुनारले बताए । ‘यो महामारीमा देखा परेको रगतको अभावलाई केही भएपनि परिपुर्ती गर्ने हाम्रो लक्ष्य हो’ उनले भने, ‘हामीले सोचेअनुसार नै रक्तदानमा सबैले सहभागिता जनाइदिनुभएको छ ।’

कार्यक्रममा बाँसगढी नगरपालिका जनप्रतिनिधी, बाँसगढी उद्योग बाणिज्य संघका प्रतिनिधी, उद्योगी व्यवसायी, सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा रक्तदान गर्ने व्यक्तिहरुलाई बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी लगायतले प्रमाणपत्र समेत वितरण गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ ३० गते आइतबार