कोहलपुर ।
पछिल्लो २४ घण्टामा शनिबार बाँकेमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ मा संक्रमण पुष्टि भएको हो । ९ महिला र १६ पुरुष गरेर २५ जनामा संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।
नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ महिला र ११ पुरुष गरी १९, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा १ महिला र २ पुरुष गरी ३ जना तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा ३ पुरुषमा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार कुल संक्रमित मध्ये ७ हजार ३ सय ७९ महिला र ९ हजार ९ सय ६३ पुरुष रहेका छन् । शनिबार जिल्लाका तीन प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ४ महिला र १६ पुरुष गरेर २० जनामा संक्रमण पुष्टि भएको थियो । बाँकेमा पछिल्लो २४ घण्टामा २५ नयाँ संक्रमित थपिदाँ ३९ संक्रमित कोरोना जितेर डिस्चार्ज भएका थिए । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार १७ महिला र २२ पुरुष गरेर ३९ जना कोरोना जितेका हुन् ।
योसँगै बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार ७ सय ९३ पुगेको फोकल पर्सन ओलीले बताए । तीमध्ये कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार १ सय ४८ महिला र ९ हजार ६ सय ४५ पुरुष रहेका छन् । पछिल्लो समय धेरै संक्रमितहरु कोरोनालाई जितेर डिस्चार्ज भइरहेका छन् । नयाँ थपिने संक्रमितको संख्या घटेसँगै कोरोना जित्नेहरु समेत बढेको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा जिल्लाभित्रका संक्रमितको मृत्यु भएको थिएन् ।
बाहिरी जिल्लाबाट रिफर भएर आएका २ पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । योसँगै बाँके जिल्लाका १ सय २९ महिला र १ सय ७७ पुरुष गरेर ३ सय ६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ सय २ महिला र २ सय ३१ पुरुष गरेर ३ सय ३३ बाहिरी जिल्लाका संक्रमितको मृत्यु भएको थियो । जिल्लाका अस्पतालमा जिल्लाभित्र र बाहिरी जिल्लाका गरेर अहिलेसम्म ६ सय ३९ जनाको उपचारका क्रममा मृत्यु भइसकेको छ ।
तीमध्ये २ सय ३१ महिला र ४ सय ८ पुरुष रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । शनिबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या २ सय ४३ रहेको थियो । तीमध्ये १ सय २ महिला र १ सय ४१ पुरुष रहेका छन् । जिल्ला भित्र र बाहिरका गरेर बाँकेमा संक्रिय संक्रमित भने ३ सय २७ रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ । जिल्लाभित्रका मात्रै १ सय १८ महिला र ८९ पुरुष गरेर २ सय ७ जना होम आइसोलेसनमा रहेका थिए । जिल्लामा रहेका अस्पताल तथा आइसोलेसन सेन्टरमा रहने संक्रमितको संख्या १ सय २० रहेको छ ।









प्रतिक्रिया दिनुहोस्