19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

लागू औषधसहित चार पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८  

सुर्खेत ।

कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञाको समयमा सीमावर्ती बजार रुपैडिहाबाट नेपालगञ्ज हुँदै सुर्खेत लागू औषध पुग्ने गरेको खुलेको छ । बिहीबार प्रहरीले लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेपछि यस्तो खुलेको हो । सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १ सय ४० मिलीग्राम लागू औषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए । सुर्खेत भेरीगङ्गा नगरपालिका–५ बबईस्थित नेपालगञ्ज–सुर्खेत सडकखण्डमा नेपालगञ्जबाट सुर्खेततर्फ लागू औषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय छिन्चुबाट गएको प्रहरीको संयुक्त टोली बबई पुगेको थियो ।

उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर र झोलामा खानतलासी गर्दा भरत विकले लगाएको रेनकोटको बायाँ गोजीमा दुई पोका र एनआर रानाले लगाएको कालो मास्क र पहेलो रङको झोलाभित्र लुकाइछिपाइ राखेको एक पोका र एक पुरीया गरी जम्मा तीन पोका एक पुरीया ब्राउन सुगर नापतौल गर्दा दुई ग्राम १४० मिलीग्राम परिमाण भेटिएको उनले बताए ।

पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ । यस्तै जबर्जस्ती करणी उद्योग र चोरी मुद्दामा फैसला तोकिएका एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । विसं २०७७ फागुन ३ गते सुर्खेत उच्च अदालतबाट नौ वर्ष तीन महिना कैद र रु दुई हजार ५०० जरिवाना फैसलापश्चात फरार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका कवि कालुङलाई प्रहरीले पक्राउ गरेको हो । उनीलाई कोरोना परीक्षण गरी जिल्ला अदालत सुर्खेतमा आवश्यक कारबाहीका लागि उपस्थित गराएको प्रहरीले जनाइएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८     8:38:33 AM  |