नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको हो ।
बैठकले हिमानी कोषले नेपालगञ्जका लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निःशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय समेत गरेको थियो । केही दिनअघि हिमानी कोषले नेपालगञ्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगञ्ज उप–महानगरपालिकालाई गरेको हो ।
छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन उप–महानगरपालिकाले पहल गर्न थालेको नगर उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । कोभिड विरुद्धको खोप अन्य संघ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृत दिने बैठकले निर्णय गरेको थियो । बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।
प्रतिक्रिया दिनुहोस्