बर्दिया ।
ठूलो परिमाणको अवैध सालको काठ बर्दियामा प्रहरीले बरामद गरेको छ । मंगलबार बिहान ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले अवैध सालको काठ बरामद गरेको हो । मधुवन नगरपालिका वडा नम्बर, ५ गाउँ नम्बर ११ को जंगल फडाँनी गरी अवैध रुपमा काठ चोरी निकासी हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो ।
ईलाका प्रहरी कार्यालय ढोढरीका ईन्चार्ज प्रहरी निरीक्षक राजन कुमार गौतमको टोली त्यहाँ पुग्नुअघि नै मानिस सवारी र सालको काठ छोडेर फरार भएका थिए । विभिन्न साइजका सालका काठसहित एउटा मोटरसाइकल समेत फेला परेको ईन्चार्ज प्रहरी निरीक्षक गौतमले जानकारी दिए । जंगलमा तस्करहरुले प्रयोग गर्ने भे १० प ७१४८ नम्बरको टिभिएस कम्पनीको रातो अपाचे मोटरसाइकल प्रहरीले फेला पारेको थियो ।
७ फिट ५ ईन्च लम्बाई र ४ फिट ४ ईन्च गोलाई भएको एक थान, ८ फिट ईन्च लम्बाई र ४ फिट गोलाई भएको एक थान, ७ फिट २ ईन्च लम्बाई र ४ फिट ४ इन्च गोलाई भएको एक थान सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
त्यसैगरी ७ फिट लम्बाई र २ फिट ११ ईन्च गोलाई भएको एक थान, ५ फिट ६ ईन्च लम्बाई र ४ फिट ५ इन्च गोलाई एक थान तथा ७ फिट ३ इन्च लम्बाई र ३ फिट ७ ईन्च गोलाई भएका सालका गोलियाहरु बरामद भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दिया प्रवक्ता प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले बरामद गरिएका सालका गोलियाहरु आवश्यक कारबाहीका लागि जिल्ला डिभिजन कार्यालय बर्दियामा बुझाइएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्