26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

जंगल राजको नजिर : पीडित युवतीहरु ‘मारिन’ सक्छन् !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८  

  • अछुत कोपिला

जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायमाथि हुँदै आएको युट्युव आतंक, एक समय खुब चर्चामा ल्याइएको टिकटक प्रकरण हुँदै युवतीहरुलाई होटलमा ल्याएर बन्धक बनाउनेसम्मको विकृत अवस्था उजागर छ ।

यसै पनि राउटे समुदाय केही डलररुपी समाजसेवीहरुको लागि दया र याचनाको गतिलो माध्यम बनिरहेको थियो । जंगलको राजा समेत भनिने यो समुदाय अहिले आएर शहरीया गिद्धे नजरको शिकार बनेको छ । दैलेखबाट केहीदिन अघिमात्रै सुर्खेतमा आएको राउटे साम्राज्यमा नराम्रो प्रहार भएको छ ।
मूलधारको मिडियामा खासै चासोको विषय भन्न नसकेको राउटेहरूको वतर्मान युट्युबरहरूको गतिलो खुराक बनिरहेको थियो, विगत केही समययता । ‘पैसा छुदाँ पनि पाप लाग्छ’ भन्ने मान्यता राख्ने राउटेहरू युट्युबरहरूका लागि डलर कुम्ल्याउने स्रोत बनिरहेका थिए, छन् ।
आम मानिससँग दोहोरो सम्बाद समेत गर्दैन थिए, कुनैबेला राउटेहरू । तर, समयले निकै कोल्टे फेरि सकेछ । अहिले उनीहरूसँग सनसनी पूर्ण अन्तरवार्ता हुन्छ । टिकटकले राउटे समुदायकी एक युवतीलाई एकाएक स्टार बनाईदियो ।
उनी आफ्नो भिन्न लवजका कारण चर्चामा आइन् । उनको बोल्ने स्टाइल, फेसियल एक्सप्रेसन, पहिरनका कारण उनी चर्चामा आएकी थिइन्, यो त राउटे समुदायको संस्कृति र सम्पति थियो ।
उनीहरूको संस्कृति झल्काउने वर्तमानलाई रमाइलोका रुपमा हेर्यो । सोही अनुसार ‘बिकाउ कन्टेन’का रुपमा चिरण गरियो । युट्युबरहरूले डलरका लागि प्रयोग गरे । कथित अभियान्ताहरू समाजसेवाको रूपमा । बिस्तारै राउटेहरू खेलौनाको रूपमा प्रयोग हुन पुगे ।
पछि तिनै युवतीसँग पारिवारिक अवस्थादेखि उनको यौन चाहना र अनुभवसम्मको भिडियो अन्तरवार्ता लिनेसम्मका हर्कत गरिए, यसमा हामीले खुब मनोरञ्जन लियौँ । आफूलाई राज्यको चौथो अंग दाबी गर्ने युट्युबरहरूले राउटेहरूमाथि आतंक मच्चाउने क्रमको उपक्रमका रूपमा पछिल्लो घटना सतहमा आएको हो ।
हाल गुर्भाकोट नगरपालिकाको आँपसोतीमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुव्र्यवहार भएको घटना बाहिरिएपछि पुनः राउटे समुदाय सतहमा आएको छ । उनीहरु होटलको बन्द कोठामा भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ ।
सार्वजनिक भिडियोमा होटलको एक कोठामा सुरुमा चमन र दुई राउटे युवती देखिन्छन् । ति मध्ये एउटी राउटे युवतीलाई चमनले ‘श्रीमती’ भनेर सम्बोधन गरेका छन् । दुवै जना राउटे युवतीहरु मदिराले लट्ठ देखिन्छन् । राउटे युवतीसँगै सुतेका चमनले थप मदिराको माग गरेको देखिन्छ । सुर्खेत प्रहरीले चमनसहित भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पक्राउ गरेको छ।

भिडियोमा पहिलो युवती भन्छिन्, ‘डिस्टब भयो के’
भिडियो बनाइरहेका अर्थनग्न पुरूष ‘चमन’ मदिराको मातमा गुन्गुनाउछन्, ‘सुवास तिमी हौ’
उनी मेरी बुढी भन्दै संवेदनशील अंग छुन खोज्छन् ।
असजिलो भन्दै युवतीले भनेकी छन्, ‘भयो के दाई’
फेरि सोध्छन्, मेरो नाम के रे ? सुतिरहेकी युवती आफ्नो नाम बताउँछिन् ।
‘ए तँ चाहिँ‘, त मेरो बहिनी हैन’ उनी अघि भन्छन् ।
यो चाहिँ ‘ पहिलो युवतीको नाम लिन्छन् । जसलाई चमनले ‘श्रीमती’को रूपमा सम्बोधन गरेका छन् ।

उनी तिनै युवती हुन्, युट्युबरहरूको अन्तरवार्तापछि सर्वत्र छाएकी थिइन् । पछि टिकटकले उनलाई भाइरल नै बनाइदियो ।

भिडियोमा अस्लिल हर्कत गरिरहेका युवक मदिराको मातमा गीत गाउन थाल्छन्, ‘फेरि फेरि नाइ न भन्नू ल ।’ उनीहरूमाथिको हर्कत यतिमा सिमित छैन,

मेरी बुढी रिसाएकी छन् । जा ‘छ्याङ’ रक्सी ल्याउ । किस गरन बुढी । सँगै सुत्छन् । युवतीको अनुहार हाइलाइट गर्छन् । उनको स्तन छुन्छन् । ५ मिनेट ३० सेकेण्डको भिडियोको अन्त्यतिर एक अर्का युवा देखा पर्छन् ।

दोस्री युवतीको काँधमा हात राख्दै भन्छन्, ‘यो मेरी गर्लफ्रेण्ड’ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमासमेत अपलोड भिडियो सुर्खतस्थित होटलमा खिचिएको हो । जहाँ टाउटे युवतीहरूले मदिरा सेवन गराएको स्पष्ट हुन्छ ।

घटनामा सलंग्न तीन जना पक्राउ समेत परिसकेका छन् । ती मध्ये एक जना होटल सञ्चालक समेत हुन् । अहिले बाहिर आएको यो प्रकरणलाई सामान्य रूपमा लिइनु हुँदैन ।

पछिल्लो समय युट्युव, टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल राउटे समुदायका युवतीमाथि पछिल्लो समय दुव्र्यवहार बढ्दै गएको छ । युट्युव, टिकटक बनाउने नाममा राउटे बस्ती पुग्नेहरुले उनीहरुलाई मदिरा सेवन गराउने, अश्लिल शब्दहरु बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका नराम्रा कामहरु गर्ने गरेका छन् ।

यो निर्दोष राउटे युवतीमाथि गरिएको जघन्य अपराध हो । यो प्रकरणको पछाडि धेरै पृष्ठभूमि जोडिएका छन् ।

पहिलो,
उनीहरुको सोझोपनको नराम्रो फाइदा युवाहरूले उठाए । उनीहरुमाथि कडा कारबाही हुनुपर्छ । यो सिंगो राउटे समुदाय र महिलामाथि भएको प्रहार हो ।

दोस्रो,
उनीहरू यौनकर्मी युवतीको रूपमा प्रयोग त भइरहेका छैनन् ? भन्ने प्रश्न पनि उब्जिएको छ । यसअघि पनि पैसाको प्रलोभन देखाएर उनीहरुमाथि प्रहार भइरहेको थियो । पछिल्लो घटना त सतहमा आएको मात्रै हो ।

भेरी नदी किनारमा फिरन्ते जीवन बिताइरहेका उनीहरू कसरी होटलको बन्द कोठासम्म पु¥याइए । यसले गम्भीर प्रश्न खडा भएको छ । यसले के देखाउँछ भने, अहिले राउटे समुदाय अन्य मानिसबाट पूर्णतः असुरक्षित छ । असुरक्षाको शिकार तिनै युवतीहरु भइरहेका छन् । त्यो पनि यौन दुव्र्यवहार जस्तो गम्भीर अपराधसम्म भएको छ ।

अहिले त यस्तोसम्म अवस्था सिर्जना भएको छ, राउटेहरू फोटो खिचाउन, उनीहरूसँग कुराकानी गर्नको लागि खुलेयाम पैसा माग्ने भएका छन् । राउटे समुदायमा रहेको स्वाभिमान गिर्दैछ । उनीहरू परनिर्भरताको स्थितिसम्म आइपुगेका छन् ।

यो जाति मदिराको मामिलामा कमजोर जाति हो । अहिले उनीहरू त्यहाँ पुग्ने हरेक नयाँ मानिससँग रक्सी (क्वाटर), चुरोट माग्छन् । प्रहरी उच्च स्रोत भन्छ, त्यो दिन उनीहरूमाथि मदिराको मातमा बलात्कार सम्मको प्रयास भएको छ ।

अहिले मिडियामा आएको जस्तो यो सामान्य दुव्र्यवहार मात्र होइन । मदिराको मातमा अन्य गलत क्रियाकलाप भएको हुन सक्ने सम्भावना प्रवल छ । भिडियो भित्रका आपत्तिजनक दृष्य हेर्दा । यसको निष्पक्ष छानविन हुनुपर्छ ।

अर्को गम्भीर कुरा ती युवतीहरूको स्वास्थ्य सुरक्षा हो । मदिराले लट्ठ बनाइएका उनीहरू जोखिममा छन् । उनीहरूको सुरक्षा कसले गर्ने ? उनीहरूका अभिभावक र समाजले उनीहरूको सुरक्षा गर्न सक्थे भने अहिले यस्तो अवस्था बेहोर्नु पर्ने थिएन । अझ गम्भीर त के छ भने राउटे समुदायले उनीहरुमाथि यस्तो दुव्र्यवहार भएको सुईको मात्रै पाए भने पनि उनीहरु मारिन सक्छन् ।

राउटे समुदायहरूको व्यवस्थापन हुनुपर्ने माग गर्दै आएका पत्रकार नगेन्द्र उपाध्याय भन्छन्, ‘दुई वर्ष अघि नै हो, हामीले राउटे नीति बनाएर प्रदेश सरकारलाई दिएको हो । त्यो कार्यान्वयन भईदिएको भए अहिलेको यो अवस्था आउने थिएन ।’

कर्णाली सरकार एक दुई हजार भत्ताको सट्टा उनीहरूको सुरक्षामा ध्यान दिने कि !’ उनले भनेजस्तै राउटे समुदाय सुरक्षित त छैन नै सरकारले समेत उनीहरूको सुरक्षाको खासै चासो दिएको पाइँदैन । दुई हजार भत्ताले उनीहरूलाई जड्याहा बनाइरहेको तथ्य लुकेको छैन । उनीहरुको अस्मिता लुटिनुमा प्रदेश सरकारको पनि कम जिम्मेवार छैन ।

मारिन सक्छन्, पीडित युवतीहरु

आज पनि जंगली युगको जिउँदो वर्तमान हो, राउटे समुदाय । उसको आफ्नै साम्राज्य छ, जंगलमा । फिरन्ते जीवन बाँचिरहेको यो समुदाय प्रकृतिप्रेमी समेत हो । यो समुदाय आफूलाई जंगलको राजा मान्दछ ।

जंगल नै उनीहरुको जीवन र मृत्युको सच्चा सारथी हो । राउटेहरुको आफ्नो बेग्लै संस्कृति परम्परा छ । नेपालमा लोपउन्मुख अवस्थामा रहेको यो समुदाय कर्णाली प्रदेशमा मात्रै बसोबास गर्दछ । अहिले राउटेहरुको जनसंख्या १ सय ३८ जना मात्र रहेको बताइन्छ ।

उनीहरु बस्ने देश नेपाल हो, राष्ट्रियता नेपाली हो । नेपाली हुनुको नाताले देशको शासन व्यवस्था, संविधान मान्ने कर्तव्य हुन जान्छ । अझ कानुनको अनविज्ञता कुनै पनि सार्वभौम मानिसको लागि क्षम्य हुँदैन ।

दोषीहरु भागिदार त छन्, नै । पीडित युवतीहरुको जीवन रक्षा नै अहिले मूख्य चुनौती हो । उनीहरुको जीवन रक्षाको लागि चुक्नु हुदैन । सरकार ! उनीहरुलाई बिना कसुरको सजाय नदिइयोस ।

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक समेत हो । तर, राउटे समुदायमा यी सबै आधारभूत मूल्य मान्यता, कानुन तथा विधि विधानमा भन्दा निकै टाढा छ । अझै भनौँ नेपालको संविधान, विधि विधान नमान्ने नागरिक र समुदाय हो राउटे । उनीहरुको आफ्नै देश छ, जंगल ।

आफ्नै अलिखित संविधान छ, अलिखित संविधान ! बेलायतमा लिखित संविधान नभए जस्तै । तर राउटेहरुको संविधान निकै कडा छ । राउटे समुदायले अहिले पनि मृत्युदण्डको कानुन लागू गर्दै आएको छ ।

नेपालको संविधान र व्यवस्था भन्दा कठोर व्यवस्थामा फिरन्ते रुपमा बाँचेको छ यो समुदाय । नियमको उल्लंघनको कल्पनासमेत गर्न सकिँदैन । किन भने राउटे समुदायमा नियम उल्लंघनको अन्तिम सत्य हो, मृत्यु । अर्थात समाजको नियम विपरित कार्य गर्ने कोही पनि जिउँदो रहँदैन ।

यसका दुई नजिर छन्, जुन यहाँ प्रस्तुत गर्न मनासिब हुन्छ

घटना २०७४ सालको हो, जतिबेला उनीहरु दैलेखको महाबु गाउँपालिका २ मा बसोबास गर्थे । जतिबेला राउटे समुदायकी महिला बस्तीमा सुत्केरी हुन सकिनन् । ती महिलालाई अस्पताल पु¥याइयो ।

अस्पतालमा गएपछि महिलाको ज्यान बचाइयो । पेटमा रहेको बच्चा बाँचेन । तीन दिन अस्पतालमा बसेकी उनी बस्तीमा गइन् । तर, उनलाई राउटे समुदायले स्वीकार गरेन । पछि हत्या गरियो । उनको कसुर थियो, अस्पतालमा गई उपचार गरेर अन्य व्यक्तिसँग कुरा गरेको ।

राउटे समुदाय बारे अध्ययन अनुसन्धान गरिरहेका जानकारहरु भन्छन्, ‘राउटे समुदायका पुरुषहरु अन्य समुदायका युवतीहरुसँग लसपस गर्दैनन् । समुदायभित्र कै युवा र युवतीले पनि हरुसँगको हिमचिम उनीहरुको लागि अस्वीकार्य हो ।’

घटना दुई
राउटे समुदायमा मुखिया बस्तीको मूख्य मान्छे हो, थारु समुदायमा विद्यामान बडघर जस्तै । नेपालको अहिलेको व्यवस्थामा प्रधानमन्त्री मुख्य भएजस्तै ।

केही समय अघिको कुरा, हो, राउटेका मुखियाको पनि अन्य महिलासँग सम्वन्ध भएको पाएपछि मुखमा ढुंगा हालेर राउटेले नै हत्या गरिदिए । गल्तीको भाँगिदार स्वयम मुखिया नै हुने यो समुदायका युवतीहरु जान अन्जान यौन दुव्र्यवहारमा परेका छन् । उनीहरुमाथि शारीरिक शोषणसम्मको जघन्य अपराध भएको छ ।

अहिले होटलमा नजरबन्दमा राखिएका युवतीहरु यसअघि नै कारबाही भोगिसकेका छन् । टिकटकमा भाइरल भएकी दुई युवती यसअघि नै करिब चार महिना ‘नजरबन्द’मा परेका थिए ।

उनीहरुलाई बाहिरी मानिसहरुसँग हेलमेल गरेको भन्दै सजाय स्वरुप नजरबन्दमा राखिएको थियो । राउटे मुखियाको कारबाहीमा परेका उनीहरुका लागि यो पटक उक्त कानुनबाट बच्न असम्भव जस्तै छ । अहिले त उनीहरु परपुरुषसँग होटल मै लगेर दुव्र्यवहार गरिएका छन् ।

बन्धक बनाएर उनीहरुलाई यौन हिंसा (बलात्कार) गरिएको छ । यो कुरा राउटे समुदायमा पुगेमा उनीहरुको मृत्यु निश्चित छ । त्यसैले दोषीहरु भागिदार त छन्, नै । पीडित युवतीहरुको जीवन रक्षा नै अहिले मूख्य चुनौती हो । उनीहरुको जीवन रक्षाको लागि चुक्नु हुदैन । सरकार ! उनीहरुलाई बिना कसुरको सजाय नदिइयोस ।

राष्ट्रिय मानव अधिकार आयोगले पनि युवतीहरुको ज्यान जोखिममा रहेको भन्दै उनीहरुको जीवन रक्षाको माग गरिरहेको छ । नत्र राउटेको मौलिक स्वतन्त्रतालाई घोचिघोची खल्बलाउने शहरका हामी राउटेहरुलाई इतिहासले पनि माफी दिने छैन ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ २५, २०७८     8:50:46 AM  |