भक्तपुर, जेठ (रासस) गैरसरकारी संस्था महासङ्घ, भक्तपुर शाखाले विपद्मा परेकाको सहयोग गर्न “गैसस विपद् व्यबस्थापन कोष” स्थापना गरेको छ । गैसस भक्तपुरको आज सम्पन्न जुम बैठकबाट कोष स्थापना गरी एकैदिन रु ७० हजार ९८४ कोषमा संकलन भएको छ ।
कोभिड–१९ को महामारीको समयमा धेरै नेपाली नागरिक विपद्मा परेपछि कोभिडसँगै देशमा आइपर्ने जुनसुकै विपद्मा पनि सहयोग गर्ने उद्देश्यका साथ कोष स्थापना गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद न्यौपानेले जानकारी दिनुभयो । संस्थाका पदाधिकारीबाट रु एक लाखसम्म सङ्कलन गर्ने र थप रकम दाताहरूसंँग आह्वान गरी कोषको रकमबाट विपद्मा परेका गैसस परिवार तथा आमनागरिकलाई आर्थिक, भौतिक तथा मनोवैज्ञानिक सहयोग गरिने उहाँले बताउनुभयो ।
विपद्मा सरकारको मात्रै मुख ताक्न नहुने र नागरिक स्तरबाट जसले जहाँबाट जति सक्छ, त्यहीँबाट सहयोग गर्न शुरु गर्नु पर्छ भन्ने लक्ष्यका साथ गैससले स्थापना गरेको राहत कोषको बारेमा छिट्टै कार्यविधि बनाएर विपद्मा परेकालाई सहयोगको कार्यलाई अगाडि बढाइने उहाँले बताउनुभयो । उहाँले कोषमा सहयोग गर्न सार्वजनिक रूपमा नागरिकस्तरमा आह्वान गर्नुभयो ।
गैसस भक्तपुरका सल्लाहकार एवं केन्द्रीय सदस्य बालमुकुन्द सुवालले हरेक वर्ष आउने बाढी पहिरोलगायतको विपत्ती झेल्दै आएको नेपालले २०७२ सालको महाभूकम्प र अहिलेको कोभिड महामारीले विपद् जतिपनि बेला आउने सक्ने भएकाले तयारीमा बस्नु पर्ने पाठ सिकाएको बताउनुभयो । उहाँले कोषलाई मजबुद बनाएर पारदर्शी ढङ्गले कार्यान्वयनमा ल्याउनु पर्ने र कोषमा सहयोगको हातहरू बढाउनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्