29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

चन्दा नदिदाँ बिजुलीका पोल ढाल्ने जेसीबी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८  

कोहलपुर ।

बाँकेमा पश्चिम क्षेत्रकै ठूलो उद्योग जय अम्बे स्टिल उद्योगमा बिजुली लैजानका लागि गाडिएका पोलहरु ढाल्ने जेसीबी र चालक पक्राउ परेका छन् ।

नेपालगञ्ज–कोहलपुर सडक खण्डको गनापुरदेखि जानकी गाउँपालिका, ६ मा रहेको उद्योगसम्म बिजुली लैजानको लागि गाडिएका पोलहरु बिहीबार दिउँसो जेसीबी लगाएर ढालिदिएको हो । फ्याक्ट्री म्यानेजर अनुप कुमार श्रेष्ठका अनुसार बिहीबार दिउँसोतीर ११ वटा बिजुली लैजान गाडिएका पोलहरु ढालिएका थिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले आइतबार राती पोल ढाल्न प्रयोग भएको जेसीबी र चालकलाई पक्राउ गरेको हो । भे १ क १४३८ नम्बरको जेसीबी र चालकलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए ।

११ वटा पोल ढाल्दा पोल र तार तथा निर्माणको खर्च गरेर १२ लाख बढी क्षती भएको फ्याक्ट्री म्यानेजर श्रेष्ठले मिसन टुडेलाई जानकारी दिए । उद्योगले गनापुरदेखि उद्योगसम्म बिजुली ल्याउनको लागि ४ किलोमिटर क्षेत्रमा पोल राख्न र तार तान्नको लागि कोहलपुरका व्यवसायी त्रिलोक धिताललाई ठेक्का दिएको थियो ।

पोल ढाल्न प्रयोग भएको जेसीबी र चालक पक्राउ परेसँगै कसको निर्देशनमा पोल ढाल्न लगाइएको थियो भन्ने खुल्ने प्रहरीले जनाएको
छ । प्रहरी स्रोतका अनुसार चालकले विद्युत प्राधिकरणका एक कर्मचारी, वडाअध्यक्ष र शिक्षकको निर्देशनमा पोल ढालेको बताएका छन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ २४, २०७८     8:46:59 AM  |