ब्राउन सुगरसहित चार पक्राउ, लागू औषधसहित पक्राउ पर्नेमा तीन युवती



नेपालगञ्ज ।

बाँके नेपालगञ्जबाट प्रहरीले लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तीन युवती र एक पुरुष रहेका छन् । नेपालगञ्ज उप–महानगरपालिका, २ न्यूरोडमा रहेको सन्ध्या नास्ता पसलबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका, ८ की ३३ वर्षिया बिबा शाही, खजुरा गाउँपालिका, ४ बस्ने ३० वर्षीया गंगा खड्का, राजापुर नगरपालिका, ४ बर्दिया बस्ने २१ वर्षीया पूजा परियार र नेपालगञ्ज उपमहानगरपालिका, ९ बस्ने ३५ वर्षीय राजेश खटिक रहेका छन् ।

खानतलासी गर्दा उनीहरुको साथबाट प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

‘उनीहरुको साथबाट बिक्रीको लागि तयारी अवस्थामा राखिएको ५६ पुडिया लागू औषध बरामद गरिएको हो’ उनले भने, ‘चारै जनाको साथबाट ४१ हजार ५०० सय नगद समेत भएको थियो ।

उनीहरुलाई आइतबार जिल्ला अदालत बाँकेबाट ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निषेधाज्ञाको समयमा समेत नेपालगञ्ज लगायतका शहरहरुमा सीमावती भारतीय बजारबाट लागू औषध ब्राउन सुगर ल्याएर लुकिछिपी बिक्री हुने गरेको छ । तीन युवतीसहित एक पुरुष पुडिया बनाएर ब्राउन सुगर बिक्री गर्दा गर्दै पक्राउ परेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २४ गते सोमबार