कोहलपुर ।
बाँकेका विभिन्न अस्पतालहरुले कोरोना संक्रमित विरामीहरुको उपचारका लागि छुट्याएका कोभिड बेडहरु खाली हुँदै जान थालेका छन् । थपिने कोरोना संक्रमितको संख्यामा कमी आएसँगै अस्पतालमा कोभिड बेडहरु खाली हुन थालेका हुन् । आइतबार साँझ साढे चार बजेसम्म जिल्लाका विभिन्न अस्पतालमा १ सय ५५ वटा कोभिड बेडहरु खाली रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठले ३ सय ६१ कोभिड बेडमध्ये १ सय ५५ बेड खाली रहेको जानकारी दिए । ‘जिल्लामा रहेका अस्पतालहरुले संक्रमितहरुको उपचारका लागि छुट्याएका कोभिड बेडहरु विस्तारै खाली हुँदै गइरहेका छन्’ उनले भने, ‘अस्पतालहरु अब विस्तारै अन्य रोगहरुको समेत उपचार पुनः सुरु गर्ने तयारीमा हुनुहुन्छ ।’ १ सय ९१ जना संक्रमित विरामीहरुको यहाँका अस्पतालमा रहेका कोभिड बेडमा उपचार भइरहेको जनस्वास्थ्य अधिकृत श्रेष्ठले बताए ।
तीमध्ये बाँके जिल्लाका संक्रमितहरु ७२ जना मात्र रहेका थिए । बाहिरी जिल्लाका गम्भीर खाले १ सय १९ संक्रमितको बाँकेका अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार दिउँसो साढे चार बजेसम्म नेपालगञ्ज भेरी अस्पतालमा रहेका २ सय कोभिड बेड मध्ये १ सय १६ बेडमा मात्र विरामी रहेका थिए । तीमध्ये २९ को अवस्था गम्भीर रहेको भेरी अस्पताल प्रशासनले जनाएको छ । भेरीमा ६९ वटा कोभिड बेड खाली रहेको जनस्वास्थ्य अधिकृत श्रेष्ठ जानकारी दिए । नेपालगञ्ज मेडिकल कलेजले कोभिड संक्रमितको लागि भनेर १ सय ३० बेड छुट्याएको छ । तीमध्ये आइतबार दिउँसोसम्म ६९ वटा बेड खाली रहेका थिए ।
७० जना विरामीको मात्र उपचार भइरहेको थियो । तीमध्ये ५८ उपचाररत संक्रमितको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरले आइतबारदेखि ओपीडी सेवा पुनः सञ्चालनमा ल्याइसकेको छ । कोरोना संक्रमित विरामीको संख्यामा कमी आएसँगै अस्पतालले ओपीडी सेवा समेत सञ्चालनमा ल्याएको हो ।
नेपालमा रहेको वेस्टर्न अस्पतालमा सर्जिकल बेड संख्या १६ रहेको छ । ती बेडमा दुई संक्रमित विरामीको मात्र उपचार भइरहेको छ । अन्य १४ बेड खाली रहेको अस्पतालका प्रबन्धक राहुल थापाले जानकारी दिए । उक्त अस्पतालमा संक्रमित विरामीको खासगरी सर्जिकल सम्बन्धी उपचार हुँदै आएको थियो ।
यस्तै युनाइटेड अस्पताल नेपालगञ्जमा समेत कुल बेड संख्या मध्ये १२ वटा बेडहरु खाली रहेको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत श्रेष्ठले जानकारी दिए । १५ वटा बेड छुट्याइएकोमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए । आइतबार दिउँसो साढे चार बजेको समयसम्म बाँकेमा अस्पतालमा भेरीमा २९, नेपालगञ्ज मेडिकल कलेजमा ५८ र वेस्टर्नमा २ गरी ८९ गम्भीर संक्रमित उपचार भइरहेको थियो ।
अन्य १ सय २ जना मध्य संक्रमितको यी बाँकेका अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जिल्लाका कोभिड बेडहरु क्रमश खाली हुँदै गइरहेको जानकारी दिए । ‘अस्पतालमा बेड खाली हुँदै जानुले समेत कोरोना संक्रमणदर घटेको देखाउँछ’ उनले भने, ‘अस्पतालमा बाँकेका भन्दा बाहिरी जिल्लाबाट रिफर भएर आएका बढी संक्रमितको उपचाररत रहेका छन् ।’
प्रतिक्रिया दिनुहोस्